पकहाँमैनपुर गाउँपालिकामा खाता सञ्चालन नहुँदा कर्मचारी दशैंमा पीडामा

पकहाँमैनपुर गाउँपालिकामा खाता सञ्चालन नहुँदा कर्मचारी दशैंमा पीडामा

पकहाँमैनपुर गाउँपालिकामा प्रमुख प्रशासकीय कार्यसम्बन्धी ढिलासुस्तीका कारण दशैंको मुखमा समेत कर्मचारीहरूले तलब नपाएको गुनासो गरेका छन्। हिन्दूहरूको महान चाड दशैं नजिकिँदै गर्दा तलब नपाउँदा कर्मचारीहरू मानसिक तथा आर्थिक रूपमा मारमा परेका छन्।

गाउँपालिका अध्यक्ष सुरेश प्रसादका अनुसार चालु आर्थिक वर्षका सबै योजनाहरूको प्रविष्टि (entry) सम्पन्न भइसकेको भए पनि उपाध्यक्ष सर्फुन नेशा, केही वडा अध्यक्षहरू र प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहबीच योजनाको भागबन्डामा सहमति नजुट्दा खाता सञ्चालनमा ढिलाइ भइरहेको छ। अध्यक्ष प्रसादले यस्तो लापरवाहीले पालिकाको साखमाथि प्रश्न उठाउनुका साथै जनप्रतिनिधि र कर्मचारीबीच अविश्वासको वातावरण सिर्जना भएको बताए।

एक कर्मचारीले दुःख व्यक्त गर्दै भने, “दशैं हामी हिन्दूहरूको सबैभन्दा ठूलो चाड हो। यसपटक त घरको खर्च चलाउन पनि सक्ने अवस्था छैन। पालिकाको लापरवाहीको मार हामी कर्मचारीहरूमा परेको छ।”

स्थानीय स्रोतहरूका अनुसार, खाता सञ्चालनसम्बन्धी निर्णयमा प्रमुख प्रशासकीय अधिकृतको भूमिका महत्वपूर्ण हुने गर्दछ। तर हाल उनी पनि प्रक्रिया लम्ब्याउँदै तलब वितरणमा अवरोध गरिरहेका छन्। वडा अध्यक्ष र उपाध्यक्षबीच मिलेमतोमा योजनाको बजेट बाँडफाँड भइरहेको आरोपसमेत अध्यक्ष प्रसादले लगाएका छन्।

स्थानीयवासीहरूका अनुसार, दशैंजस्तो राष्ट्रिय चाडमा कर्मचारीहरूलाई तलब नदिनु गम्भीर प्रशासनिक लापरवाही हो। उनीहरूले पालिकाभित्रको स्वार्थपूर्ण चलखेल तत्काल अन्त्य गरी पीडित कर्मचारीहरूलाई यथाशिघ्र राहत दिन माग गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close