
७० औं नेपाल प्रहरी दिवसको अवसरमा वीरगञ्जको भिष्वा डाँडाको बौद्धस्तुपामा बृहत सरसफाई गरिएको छ ।
नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय पर्साले संयुक्त रुपमा बुधबार यहाँको बौद्धस्तुपामा सरसफाई गरिएको हो ।

नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रमुख शन्तिराज कोइरालाले नेपाल प्रहरीको दिवसको अवसरमा वीरगञ्जको भिष्वा डाँडास्थित बौद्ध स्तुपामा बृहत सरसफाई गरेको जानकारी दिनुभयो ।‘‘ सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सरसफाई र अन्य कार्यक्रम गर्दै आइरहेका छौं,’’उहाँले भन्नुभयो,‘‘धार्मिकस्थल तथा सार्वजनिक स्थल सरसफाईलाई निरन्तरता दिदैँ आइरहेका छौं ।’’
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी किशोर लम्सालले पर्सा प्रहरीले बुधबार यहाँका धार्मिकस्थलहरुको सरसफाई गरेको बताउनुभयो ।‘‘भिष्वा डाँडामा रहेको बौद्धस्तुपामा एक सय जनाभन्दा धेरै प्रहरी खटिएर सरसफाई गरेका छौं,’’ उहाँले भन्नुभयो,‘‘धार्मिकस्थललाई स्वच्छ र हराभरा गराउनका लागि सहयोग पुग्ने अपेक्षा राखेका छौं ।’’
पर्सा प्रहरीले विगतमा पनि समुदायसँग सहकार्य गरेर विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । त्यसको अलवा समुदायस्तरमा विभिन्न प्रकारका जनचेतना तथा अभिमुखीकरण पनि गर्दै आइरहेको छ । सूचना अधिकारी लम्सालले दिवसको अवसरमा मात्रै नभएर अन्य समयमा पनि सार्वजनिक स्थल तथा धार्मिकस्थलको सरसरसफाई र संरक्षणको काम गर्दै आइरहेको जानकारी दिनुभयो । पर्सा प्रहरीले विहीबार रक्तदान र शुक्रबार विभिन्न कार्यक्रम गरेर प्रहरी दिवस मनाउँदैछ ।




