
७० औं नेपाल प्रहरी दिवसका अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौंद्वारा आयोजित विशेष समारोहमा प्रहरी निरीक्षक बिक्रम साहलाई सम्मान प्रदान गरिएको छ। अमर प्रहरीका सन्तानहरूको शैक्षिक अवस्था मजबुत बनाउन र अपाङ्ग तथा अशक्त प्रहरी कर्मचारीहरूलाई सहयोग पुर्याउने कार्यमा विशेष योगदान पु¥याएको भन्दै उनलाई सम्मानित गरिएको हो।
प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले प्रहरी दिवस समारोहका बीच निरीक्षक साहलाई प्रशंसा पत्रसहित सम्मान प्रदान गरे।

प्रहरी निरीक्षक बिक्रम साह पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१४ का स्थायी बासिन्दा हुन्। उनले प्रहरी सेवामा रहँदै सामाजिक उत्तरदायित्व र मानवीय सेवाका क्षेत्रमा समेत उल्लेखनीय काम गर्दै आएका छन्। विशेषगरी, अमर प्रहरीका आश्रितहरू तथा सेवा निवृत्त र अशक्त प्रहरी परिवारहरूलाई आवश्यक सहयोग पुर्याउँदै आएका साहले संगठनको सामाजिक समावेशिता र सेवामूलक भूमिकालाई सशक्त बनाउने कार्यमा उदाहरणीय भूमिका निर्वाह गर्दै आएका छन्।
उनको यो योगदानले प्रहरी संगठनभित्र सकारात्मक ऊर्जा सञ्चार गर्नुका साथै समाजमा पनि प्रहरीप्रति विश्वास र सम्मान अझ गहिरो बनाएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी निरीक्षक साहको सम्मानलाई वीरगञ्ज लगायत पर्सा जिल्लाका नागरिकहरूले गर्वका रूपमा लिएका छन्। प्रहरी सेवा मात्र होइन, मानव सेवामा पनि उनको सक्रियता भावी पुस्ताका लागि प्रेरणादायी बन्ने विश्वास व्यक्त गरिएको छ।




