
राहुल गुप्ता/पर्सा
नेपाली कांग्रेस बाराका सचिव तथा महामन्त्री गगन थापाका विश्वासिला पात्रका रूपमा चिनिएका युवा नेता राजेश रौनियार विशेष महाधिवेशनमार्फत गगन थापालाई पार्टीको सभापति बनाउने अभियानमा खुलेर लागेका छन्। पार्टीभित्र देखिएको गुटबन्दी, विचारहीन राजनीति र नेतृत्वको संकटको समाधान गगन थापाको नेतृत्वले मात्र गर्न सक्ने उनको ठोकुवा छ।
प्रहार डेलीका संवाददातासँग कुराकानी गर्दै रौनियारले नेपाली कांग्रेसलाई पुनः जनताको भरोसायोग्य, सशक्त र आधुनिक पार्टी बनाउने क्षमता गगन थापामा मात्रै रहेको बताए।
रौनियारले भने, “आजको अवस्थामा नेपाली कांग्रेसमा गगन थापा बाहेक पार्टीलाई बलियो बनाउने, युवालाई जोड्ने र जनताको आशा जगाउने अर्को नेता छैन। त्यसैले हामी सम्पूर्ण युवा पुस्ता मात्र होइन, पार्टीका अग्रज नेता ज्युहरू समेत उहाँकै नेतृत्वमा एकजुट भएका छौं।”
राजेश रौनियार लामो समयदेखि महामन्त्री थापाको विश्वासिलो सहकर्मीका रूपमा पार्टी संगठन सुदृढीकरणमा सक्रिय रहँदै आएका छन्। उनी संगठनभित्र स्पष्ट विचार, निडर अभिव्यक्ति र परिवर्तनमुखी सोच राख्ने नेताका रूपमा परिचित छन्। यही कारणले पनि गगन थापाको राजनीतिक यात्रामा रौनियारलाई एक महत्वपूर्ण स्तम्भका रूपमा हेरिन्छ।
गगन थापाको पक्षमा माहोल सिर्जना गर्दै रौनियारले हालै सामाजिक सञ्जालमार्फत एक सशक्त सन्देश सार्वजनिक गरेका छन्। उनले महाभारतको उदाहरण दिँदै कांग्रेसभित्रको वर्तमान संघर्षलाई ऐतिहासिक लडाइँसँग तुलना गरेका छन्।
रौनियारले लेखेका छन्-“महाभारतमा पाण्डवहरूले कौरवसँग लड्न जुन साहस र सामर्थ्य देखाएका थिए, आउनुस् कांग्रेसभित्रको यस महाभारतमा एक–एक महाधिवेशन प्रतिनिधि र शुभेच्छुकहरूले आफूलाई पाण्डव ठानेर अघि बढ्नुस्। इतिहास सधैं लड्नेको हुन्छ, घुँडा टेक्नेको होइन। जय नेपाल।”
यो सन्देशले कांग्रेसभित्र परिवर्तन चाहने युवा पंक्तिमा नयाँ उत्साह थपेको देखिन्छ। धेरैले यसलाई यथास्थितिविरुद्धको विद्रोही आवाज र नयाँ नेतृत्वको आह्वानका रूपमा व्याख्या गरेका छन्।
राजेश रौनियारका अनुसार गगन थापा केवल एक नेता मात्र होइनन्, उनी कांग्रेसको भविष्यको खाका हुन्। स्पष्ट विचार, भ्रष्टाचारविरुद्धको अडान, सुशासनप्रतिको प्रतिबद्धता र युवामैत्री राजनीतिक सोचले गगन थापालाई पार्टीभित्र मात्र होइन, आम जनतामाझ पनि लोकप्रिय बनाएको उनको भनाइ छ।
विशेष महाधिवेशन नजिकिँदै जाँदा रौनियार जस्ता युवा नेताहरूको सक्रियताले नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस थप चर्किँदै गएको छ। गगन थापाको नेतृत्वमा पार्टीलाई नयाँ उचाइमा पुर्याउने सपना बोकेर राजेश रौनियार अहिले मैदानमा खुलेर उत्रिएका छन्।




