नयाँ दिल्लीमा आयोजित AI Impact Summit 2026 मा विश्वका राष्ट्रप्रमुख, सरकारका प्रतिनिधि, प्रविधि विज्ञ तथा नवप्रवर्तकहरूको उल्लेखनीय सहभागिताबीच कृत्रिम बुद्धिमत्ता (एआई) को मानव–केन्द्रित भविष्यबारे गहन छलफल भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समिटलाई सम्बोधन गर्दै एआईलाई “सर्वजन हिताय, सर्वजन सुखाय” को भावनासहित विकास गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री मोदीले एआई प्रणालीहरू पारदर्शी, विश्वसनीय र उत्तरदायी हुनुपर्ने बताउँदै सामग्रीमा स्पष्ट प्रमाणीकरण (लेबलिङ) आवश्यक रहेको उल्लेख गरे। भारतले कृत्रिम रूपमा सिर्जित सामग्रीको स्पष्ट लेबलिङलाई कानुनी मान्यता दिएको उदाहरण प्रस्तुत गर्दै उनले विश्वव्यापी रूपमा साझा मापदण्ड विकास गर्न आह्वान गरे। विशेष गरी बालबालिकाको सुरक्षा, परिवार–मैत्री प्रणाली र जिम्मेवार नवप्रवर्तनमा जोड दिनुपर्ने उनले बताए।
उनका अनुसार प्रविधिलाई रणनीतिक सम्पत्तिका रूपमा सुरक्षित राख्दै खुला प्लेटफर्ममार्फत युवा पुस्तालाई सुरक्षित र मानव–केन्द्रित विकासमा संलग्न गराउन सकिन्छ। “एआईले मेसिनलाई मात्र बुद्धिमान बनाउँदैन, यसले मानव क्षमताको विस्तार गर्छ,” उनले भने।
भारतले एआई इकोसिस्टम सुदृढ बनाउन पूर्वाधार निर्माणमा तीव्रता दिएको जानकारी दिँदै प्रधानमन्त्रीले हजारौँ GPU स्थापना गरिएको र थप विस्तारको तयारी भइरहेको बताए। राष्ट्रिय एआई फाउन्डेसन स्थापना, स्वदेशी एआई मोडल र एप्लिकेसन विकास, सेमिकन्डक्टर उत्पादन र डेटा पूर्वाधारमा लगानीजस्ता पहलहरूबारे पनि उनले प्रकाश पारे।
प्रधानमन्त्रीले भारतको युवा जनसंख्या र प्राविधिक प्रतिभालाई एआई युगको प्रमुख चालक शक्तिका रूपमा चित्रित गर्दै सीप विकास, पुनःसीप विकास र जीवनभर सिकाइलाई प्राथमिकता दिइएको बताए। एआईलाई कृषि, स्वास्थ्य, शिक्षा र बहुभाषिक सेवाजस्ता क्षेत्रमा प्रयोग गरी समावेशी विकासको लक्ष्य हासिल गर्न सकिने उनले उल्लेख गरे।
भारत सरकारले ‘MANAV’ नामक मानव–केन्द्रित एआई शासन ढाँचा प्रस्ताव गरेको छ, जसमा:
M – Moral and Ethical Systems (नैतिक प्रणाली): एआई विकासमा नैतिक दिशानिर्देश।
A – Accountable Governance (जवाफदेही शासन): पारदर्शिता र सशक्त नियमन।
N – National Sovereignty (राष्ट्रिय सार्वभौमिकता): डाटामाथि राष्ट्रिय अधिकारको सम्मान।
A – Accessible and Inclusive (पहुँचयोग्य र समावेशी): सबैका लागि एआई पहुँच सुनिश्चित।
V – Valid and Legitimate (मान्य र वैध): कानुनी र प्रमाणिक ढाँचा अनुरूप सञ्चालन।
समिटमा १०० भन्दा बढी राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहेको जनाइएको छ। प्रदर्शनीमा नवप्रवर्तकहरूले अत्याधुनिक एआई उत्पादन र सेवाहरू प्रस्तुत गरेका थिए, जसले भारतलाई विश्व एआई नवप्रवर्तनको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरिएको छ।
अन्त्यमा प्रधानमन्त्री मोदीले विश्व समुदायलाई भारतमा डिजाइन र विकास गर्न तथा मानवताको हितमा प्रविधि प्रयोग गर्न आह्वान गर्दै भने, “विश्वास नै एआईको भविष्यको जग हो। मानव–केन्द्रित दृष्टिकोणसहित अघि बढे मात्र एआईले विश्वलाई उज्यालो भविष्यतर्फ डो¥याउनेछ।”




