पर्सा क्राइम टोलीमाथि टिकटक र बिटक्वाइन संजाल संरक्षणको आरोप

PHOTO AI

वीरगञ्ज — पर्सा जिल्लामा अपराध नियन्त्रण गर्ने जिम्मेवारी पाएको प्रहरीको क्राइम टोली नै यतिबेला गम्भीर विवादमा तानिएको छ। टिकटक र बिटक्वाइनजस्ता डिजिटल माध्यममार्फत फैलिएको अवैध आर्थिक संजालमाथि कारबाही गर्ने नाममा प्रहरीले उल्टै ‘सेटिङ’ मिलाएर रकम असुली गरी आरोपीहरूलाई उन्मुक्ति दिने गरेको आरोप सार्वजनिक भएको छ।

स्रोतका अनुसार, करिब एक महिना अघि पर्सा क्राइम टोलीले एक युवालाई पक्राउ गरेको थियो। सामान्य परिवारका ती युवकको बैंक खाता तथा अन्य माध्यममार्फत करिब ६ करोड रुपैयाँ बराबरको कारोबार भएको भेटिएको थियो। प्रारम्भिक अनुसन्धानमा शंकास्पद गतिविधि देखिएपछि पक्राउ गरिए पनि, पक्राउ परेकै दिन ३ लाख रुपैयाँ लिएर उनलाई रिहा गरिएको आरोप छ।

यस विषयमा क्राइम टोलीका एक सदस्यसँग प्रतिक्रिया माग्दा उनले उक्त समयमा आफू बिदामा रहेको दाबी गर्दै पन्छिन खोजेका छन्।

यसअघि पनि यस्तै प्रकृतिका घटना दोहोरिएको देखिन्छ। करिब ६ महिना अघि टिकटक र बिटक्वाइनमार्फत सञ्चालन भइरहेको संजालमा संलग्न दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। तर, प्रति व्यक्ति ३ लाख रुपैयाँका दरले रकम लिएर उनीहरूलाई त्यही रात रिहा गरिएको आरोप छ। उनीहरूका मोबाइल फोन प्रहरीसँग ‘साक्षी’का रूपमा राखिएको भनिए पनि, त्यसमा ठूलो डिजिटल संजालसँग सम्बन्धित प्रमाण रहेको बताइन्छ। भोलिपल्ट रकम बुझाएपछि ती मोबाइलसमेत फिर्ता गरिएको स्रोतले जनाएको छ।

झन् गम्भीर कुरा के भने, ती युवाहरूबाट अहिले पनि मासिक रूपमा रकम असुली गर्ने ‘सेटिङ’ मिलाइएको आरोपसमेत उठेको छ।

कानून कार्यान्वयन गर्ने निकायमै यस्तो प्रकारको भ्रष्ट आचरण देखिनु अत्यन्त चिन्ताजनक विषय हो। यदि यी आरोपहरू सत्य साबित भए, यसले प्रहरी संगठनको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउने मात्र होइन, आम नागरिकको सुरक्षामा पनि प्रत्यक्ष असर पार्नेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close