
एमनेष्टी इन्टरनेशनल समूह १६ को आयोजनामा वीरगंजस्थित घडिअर्वा परिषदमा एक दिने मानवअधिकार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पर्सा क्षेत्र नं–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुशील साह कानु लाई बधाई तथा सम्मान गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले जनप्रतिनिधिहरूले मानवअधिकार संरक्षण र प्रवर्द्धनका लागि संसदमा सशक्त आवाज उठाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले मानवअधिकारमैत्री नीति निर्माण तथा प्रभावकारी कार्यान्वयनमा सक्रिय भूमिका आवश्यक रहेको बताएका थिए।
समूह १६ का अध्यक्ष रजनिस झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सांसद कानुले मानवअधिकार संरक्षण लोकतन्त्रको आधार स्तम्भ भएको उल्लेख गर्दै यस क्षेत्रमा आफू सदैव प्रतिबद्ध रहने बताएका थिए। उनले नागरिक अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी तथा नीतिगत पहल संसदभित्र र बाहिरबाट समेत अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा एमनेष्टी इन्टरनेशनल का वरिष्ठ सल्लाहकार राजेश जैन बोथरा, बोर्ड सदस्य विशाल झा, सतिश अग्रवाल, सचिव सुनिल महतो, समीक्षा घिमिरे तथा सञ्चारकर्मी जगत राई लगायतको उपस्थिति रहेको थियो।
अभिमुखीकरण कार्यक्रममा मानवअधिकारका आधारभूत सिद्धान्त, वर्तमान चुनौती तथा स्थानीय तहमा कार्यान्वयनका विषयमा प्रशिक्षण दिइएको थियो। प्रशिक्षण समूह १६ का अध्यक्ष रजनिस झाले दिएका थिए भने कार्यक्रमको सहजीकरण शम्भु घिमिरेले गरेका थिए।
कार्यक्रमले मानवअधिकारप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै जनप्रतिनिधि र नागरिकबीच सहकार्य सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।




