
वीरगञ्ज — नेपाल सरकारको नीति–नियमअनुसार १०० रुपैयाँभन्दा बढी मूल्यका सामान भन्सार प्रक्रिया पूरा नगरी नेपाल भित्र्याउन नदिने स्पष्ट निर्देशन भए पनि पर्सा जिल्लाका विभिन्न नाकाहरूमा यसको कार्यान्वयन कमजोर देखिएको छ। मुख्य भन्सार नाका बाहेक अन्य साना नाकाहरूमा तस्करी नियन्त्रण हुनुको साटो झन् बढ्दो अवस्थामा रहेको स्थानीयहरूको गुनासो छ।
विशेषगरी छपकैया र इनार्वा नाकाबाट दैनिक रूपमा अवैध रूपमा सामान ओसारपसार भइरहेको दृश्य सहजै देख्न सकिने स्थानीयहरू बताउँछन्। दिनको समयमा शान्त देखिए पनि राति भने तस्करी गतिविधि सक्रिय हुने गरेको उनीहरूको भनाइ छ।
सर्वसाधारणले घरायसी प्रयोजनका लागि सामान्य सामान ल्याउँदा कडाइका साथ नियम लागू गरिने तर तस्करहरूसँग आर्थिक लेनदेन गरी बिना जाँच पास गरिने आरोपसमेत उठिरहेको छ। यसले प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न खडा गरेको छ।
यही सन्दर्भमा विर्ता क्षेत्रका टाइगर घुमुवा इन्चार्ज विवेक कुमार सिंहको कार्यशैलीप्रति पनि विभिन्न आशंका व्यक्त हुन थालेका छन्। उनी लामो समयदेखि उक्त क्षेत्रमा कार्यरत रहँदै आएका छन् र बारम्बार सरुवा भए पनि पुनः पर्सामै फर्किने गरेको स्रोतको दाबी छ।
स्थानीयका अनुसार रातको समयमा मोटरसाइकलको तीव्र आवाज र तस्करहरूको गतिविधिले जनजीवन प्रभावित भएको छ। सिंह कहिले प्रहरी पोशाकमा त कहिले सादा पोशाकमा नाकाहरूमा पुग्ने गरेको पनि बताइएको छ।
यस विषयमा सम्बन्धित निकायले गम्भीर रूपमा छानबिन गरी आवश्यक कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।



