
जिराभवानी, पर्सा । देशमा चोरी, तस्करी र अवैध घुसपैठ नियन्त्रणका लागि विभिन्न समयमा आन्दोलन र अभियान सञ्चालन भए। सीमाको सुरक्षा कडा बनाउने प्रतिबद्धता पनि पटक–पटक दोहोरियो। तर पर्साको जानकीटोला नाकाको अवस्था हेर्दा राज्यका ती प्रतिबद्धता कागजमै सीमित भएको जस्तो देखिन्छ।
स्थानीय बासिन्दा तथा सीमावर्ती क्षेत्रका व्यापारीहरूका अनुसार जानकीटोला, असवारी, पाण्डेपुर लगायतका नाकाबाट लत्ताकपडा, हार्डवेयर सामग्री, कुखुराको चल्ला, भैँसी, गाई–गोरु तथा अन्य सामानको तस्करी खुला रूपमा भइरहेको छ। अझ गम्भीर कुरा, उक्त अवैध कारोबार सुरक्षाकर्मीहरूको संरक्षण र मिलेमतोमै भइरहेको आरोप स्थानीयहरूले लगाएका छन्।
स्थानीय स्रोतहरूका अनुसार भारतबाट भित्रिने अवैध मालसामान बिहान, दिउँसो, साँझ र राति कुनै रोकटोकबिना नेपाल प्रवेश गरिरहेको छ। राज्यले राजस्व गुमाइरहेको छ, तर तस्करी नियन्त्रणको जिम्मेवारी पाएका निकायहरू नै मौन बसिरहेका छन् भन्ने जनगुनासो बढ्दै गएको छ।
जानकीटोला प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) अर्जुन पण्डितमाथि समेत स्थानीयहरूले गम्भीर आरोप लगाएका छन्। उनी त्यहाँ आएपछि तस्करी गतिविधि झन् मौलाएको दाबी स्थानीयहरूको छ। प्रहरी संगठनको नाममा रकम असुली गरी तस्करहरूलाई “लाइन” दिइने, रातिको समयमा तस्करीका सामान सुरक्षित रूपमा पार गराउन सहयोग गरिने जस्ता आरोपसमेत सार्वजनिक भएका छन्।
स्थानीयहरूका अनुसार सामान्य नागरिकले सानो सामान ल्याउँदा अनेक झन्झट र जाँचको सामना गर्नुपर्छ, तर ठूलो परिमाणमा हुने तस्करी भने निर्बाध रूपमा सञ्चालन भइरहेको छ। यसले कानुन सर्वसाधारणका लागि मात्र हो र पहुँचवालाहरूका लागि छुट्टै व्यवस्था छ भन्ने सन्देश प्रवाह गरिरहेको उनीहरूको भनाइ छ।
खुला सीमाको फाइदा उठाउँदै मासिक नजराना र सेटिङको आधारमा अवैध कारोबार भइरहेको आरोप नयाँ होइन। तर सम्बन्धित निकायले प्रभावकारी छानबिन नगर्दा तस्करहरूको मनोबल झन् बढ्दै गएको स्थानीयहरूको दाबी छ। जानकीटोला नाका अहिले पर्साको सबैभन्दा सक्रिय कुखुराको चल्ला तथा चौपाया तस्करी हुने मार्गका रूपमा चिनिन थालेको उनीहरूको भनाइ छ।
स्थानीय स्रोतका अनुसार रातभरि २० देखि २५ वटा साइकल तथा मोटरसाइकलमार्फत भारतबाट कुखुराको चल्ला भित्र्याइ विभिन्न फर्मसम्म पुर्याइने गरिएको छ। यसरी दिनहुँ लाखौँ रुपैयाँ बराबरको राजस्व राज्यले गुमाइरहेको आरोप छ।
विडम्बना के छ भने शान्ति सुरक्षा कायम गर्ने, सीमा संरक्षण गर्ने र तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएका निकायमाथि नै तस्करहरूसँगको मिलेमतोको आरोप लागिरहेको छ। यदि यी आरोप सत्य हुन् भने यो केवल राजस्व चुहावटको विषय मात्र होइन, राज्य प्रणालीमाथिको गम्भीर चुनौती पनि हो।
यस विषयमा प्रतिक्रिया लिन प्रहरी चौकी जानकीटोलाका इन्चार्ज सई अर्जुन पण्डितलाई सम्पर्क गर्ने प्रयास गरिएको भए पनि सम्पर्क हुन सकेन।
स्थानीय बासिन्दाहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषी जोसुकै भए पनि कानुनी कारबाही गर्न माग गरेका छन्। राज्यको राजस्व लुटिने, सीमामा तस्करी मौलाउने र सुरक्षाकर्मीमाथि नै प्रश्न उठ्ने अवस्था अन्त्य गर्न सम्बन्धित निकायको तत्काल ध्यान जान आवश्यक देखिएको छ।



