
वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको प्रथम जिल्ला अधिवेशनबाट हरि पन्त पुनः जिल्ला अध्यक्षमा निर्वाचित भएका छन्। रास्वपा पर्साका संस्थापकसमेत रहेका पन्तले आफ्नो नेतृत्वको सम्पूर्ण प्यानललाई विजयी गराउँदै जिल्ला संगठनमा पुनः नेतृत्व कायम राख्न सफल भएका हुन्।
अधिवेशनको निर्वाचन परिणामसँगै रास्वपा पर्साको नयाँ जिल्ला नेतृत्वमा संस्थापन पक्षको स्पष्ट वर्चस्व स्थापित भएको छ। पन्तले पार्टीका पुराना नेतृत्व तथा कार्यकर्ताको बलियो साथ पाउँदै निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए।
यस निर्वाचनलाई पर्सा जिल्लामा रास्वपाभित्रको शक्ति परीक्षणका रूपमा समेत हेरिएको थियो। पन्तको प्रतिस्पर्धी सुशीलकुमार कानुको पक्षमा पर्सा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य रामाकान्त चौरसिया, क्षेत्र नं. ४ का सांसद टेकबहादुर शाक्य तथा नेता सुधिर पटेलको समर्थन रहेको थियो। कानु स्वयं पर्सा क्षेत्र नं. २ का सांसद हुन्।
यता पर्सा क्षेत्र नं. १ का सांसद हरि पन्त भने संस्थापन पक्षबाट एक्लै चुनावी मैदानमा उत्रिएका थिए। उनले आफू अध्यक्षमा विजयी हुनुका साथै आफ्नो सम्पूर्ण प्यानललाई समेत निर्वाचित गराउन सफल भएका छन्।
निर्वाचन परिणामले पर्सा जिल्लामा रास्वपाको संगठनात्मक नेतृत्वमा हरि पन्तको प्रभाव अझ बलियो बनेको विश्लेषण गरिएको छ। अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले आगामी दिनमा पार्टी संगठन विस्तार, सदस्यता वृद्धि तथा आगामी निर्वाचनको तयारीलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।
रास्वपा पर्साको प्रथम जिल्ला अधिवेशनलाई जिल्लामा पार्टी संगठन सुदृढीकरणका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको थियो। अधिवेशन सम्पन्न भएसँगै नयाँ नेतृत्वले पार्टीलाई थप व्यवस्थित र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।




