बहुदरमाईमा स्वास्थ्य कार्यालय पर्साको क्रस–चेक अनुगमन, अधिकांश बालबालिकाले पाए समयमै खोप

बहुदरमाईमा स्वास्थ्य कार्यालय पर्साको क्रस–चेक अनुगमन, अधिकांश बालबालिकाले पाए समयमै खोप

पर्सा जिल्लाका १५ महिनासम्मका सबै बालबालिकाले समयमै नियमित खोप पाए–नपाएको सुनिश्चित गर्न स्वास्थ्य कार्यालय पर्साले बहुदरमाई नगरपालिकामा क्रस–चेक अनुगमन कार्यक्रम सञ्चालन गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित खोप कार्यक्रमअन्तर्गत बालबालिकालाई विभिन्न सरुवा रोगबाट सुरक्षित राख्न समयमै खोप लगाउनु अत्यन्त महत्वपूर्ण मानिन्छ। सोही उद्देश्यअनुसार स्वास्थ्य कार्यालय पर्साको टोलीले बहुदरमाई नगरपालिकाका विभिन्न टोल तथा बस्तीमा पुगेर खोपको अवस्थाबारे स्थलगत अनुगमन गरेको हो।

अनुगमनका क्रममा अधिकांश बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार समयमै खोप प्राप्त गरेको पाइएको स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले जानकारी दिए। उनका अनुसार बहुदरमाई नगरपालिकाले खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरेको देखिएको छ भने अभिभावकहरू पनि बालबालिकाको स्वास्थ्यप्रति सचेत रहेको पाइएको छ।

टोलीले बहुदरमाई नगरपालिकाअन्तर्गत रहेको रामनगरी स्वास्थ्य चौकी तथा अन्य खोप केन्द्रहरूको समेत निरीक्षण गरेको थियो। अनुगमनका क्रममा स्वास्थ्यकर्मीहरूले अभिभावकसँग भेटघाट गरी खोपको महत्व, छुटेका बालबालिकालाई खोप केन्द्रसम्म ल्याउने व्यवस्था तथा आगामी दिनमा पनि नियमित रूपमा खोप लगाउनुपर्ने विषयमा जानकारी दिएका थिए।

पर्सा जिल्ला खोप समितिका संयोजक तथा जिल्ला समन्वय समितिका अध्यक्ष अजय कुमार सोनारले नियमित खोप कार्यक्रम बालबालिकाको स्वास्थ्य सुरक्षाको आधारस्तम्भ भएको उल्लेख गर्दै प्रत्येक बालबालिकाले तोकिएको समयमै सम्पूर्ण खोप प्राप्त गर्नुपर्ने बताए। उनले खोप अभियानलाई सफल बनाउन स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्य अझ सुदृढ बनाइने बताए।

स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले घरदैलो तथा क्रस–चेक अनुगमनले छुटेका बालबालिकाको पहिचान गर्न र खोप कार्यक्रमको वास्तविक अवस्था मूल्यांकन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले आगामी दिनमा पनि यस्ता अनुगमन तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।

अनुगमन टोलीमा जिल्ला समन्वय समितिका अध्यक्ष अजय कुमार सोनार, स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुर, नेपाल पत्रकार महासंघ का कार्यसमिति सदस्य राहुल गुप्ता, स्वास्थ्य कार्यालयका कर्मचारी शबनम कार्की, शर्मिला न्यौपाने, खुश्बु यादव लगायतको सहभागिता रहेको थियो।

स्वास्थ्य कार्यालय पर्साका अनुसार खोपबाट बच्न सकिने रोगहरूको जोखिम न्यूनीकरण गर्न प्रत्येक बालबालिकाले निर्धारित उमेरभित्र सबै खोप पूरा गर्नु आवश्यक छ। यसका लागि स्थानीय तह, स्वास्थ्य संस्था तथा समुदायबीचको समन्वयलाई अझ प्रभावकारी बनाइने जनाइएको छ। साथै, नियमित खोप कार्यक्रमको प्रभावकारिता बढाउन यस्ता घरदैलो अनुगमन तथा सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने स्वास्थ्य कार्यालयले जनाएको छ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close