सर्लाही–रौतहट सीमाबाट भारततर्फ तस्करी हुन लागेको करिब एक करोड मूल्य बराबरको खरबुजाको बिउ बरामद, पाँच सवारीसाधन नियन्त्रणमा

सर्लाही–रौतहट सीमाबाट भारततर्फ तस्करी हुन लागेको करिब एक करोड मूल्य बराबरको खरबुजाको बिउ बरामद, पाँच सवारीसाधन नियन्त्रणमा

सर्लाहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणको खरबुजाको बिउ सशस्त्र प्रहरीले बरामद गरेको छ। विशेष सूचनाका आधारमा सञ्चालन गरिएको संयुक्त अपरेशनमा करिब २०० बोरा खरबुजाको बिउ र तस्करीमा प्रयोग गरिएका पाँच वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीका अनुसार रौतहटको राजदेवी नगरपालिका–६ र ७ अन्तर्गत बागमती नदीपारि तथा सर्लाहीको बलरा नगरपालिका–२ स्थित हथियौल बाँध नजिकको महनपुर सीमा क्षेत्रबाट भारततर्फ अवैध निकासीको तयारी भइरहेको सूचनापछि बुधवार राति करिब १० बजे संयुक्त टोली परिचालन गरिएको थियो।

कारबाहीमा सीमा सुरक्षा गुल्म मुख्यालय सिमरा, सीमा सुरक्षा गुल्म मुख्यालय मलंगवा तथा नम्बर १० गण मुख्यालय सर्लाहीबाट खटिएका करिब ८० सदस्यीय सशस्त्र प्रहरी टोली सहभागी भएको थियो। टोलीको नेतृत्व सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णुदत्त अवस्थी, नायव उपरीक्षक विष्णु अधिकारी तथा सशस्त्र प्रहरी निरीक्षक कृष्ण गुरुङ ले गरेका थिए।

सशस्त्र प्रहरीका अनुसार भारततर्फ पठाउन तयारी अवस्थामा रहेका २०० बोरा खरबुजाको बिउ भारतीय नम्बर प्लेटका सवारीसाधनमा लोड गरिँदै गर्दा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीको टोली आएको थाहा पाएपछि तस्करीमा संलग्न चालक तथा अन्य व्यक्तिहरू सवारीसाधन छाडेर फरार भएका थिए।

कारबाहीका क्रममा चार वटा भारतीय नम्बर प्लेटका बोलेरो पिकअप र एउटा नेपाली नम्बर प्लेटको मिनी ट्रक नियन्त्रणमा लिइएको छ। बरामद गरिएको खरबुजाको बिउ तथा सवारीसाधनहरूको कुल अनुमानित मूल्य करिब एक करोड रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नम्बर १० गणका प्रमुख एसपी अमरबहादुर खत्री ले जानकारी दिए।

बरामद गरिएको सामान तथा सवारीसाधन आवश्यक कानुनी प्रक्रिया पूरा गरी मलंगवा भन्सार कार्यालय मा बुझाइएको जनाइएको छ।

स्थानीय स्रोतका अनुसार सीमापारि भारततर्फ लैजानका लागि भारतीय नम्बर प्लेटका बोलेरोमा खरबुजाको बिउ लोड गरिँदै गरेको अवस्थामा सशस्त्र प्रहरी घटनास्थल पुगेको थियो। स्रोतले जिल्लामा विभिन्न प्रकारका तस्करी गतिविधिमा संरक्षण र सेटिङको चर्चा हुने गरे पनि हाल छिन्नमस्ता बाहिनी को कमाण्ड सम्हालिरहेका डिआइजीको निर्देशनपछि यो कारबाही सम्भव भएको दाबी गरेको छ। यद्यपि उक्त दाबीबारे सम्बन्धित निकायबाट औपचारिक पुष्टि हुन बाँकी रहेको छ।

सीमावर्ती क्षेत्रमा पछिल्लो समय कृषि उपज, खाद्यान्न, कपडा तथा अन्य वस्तुको अवैध ओसारपसार बढ्दै गएको गुनासो भइरहेका बेला सशस्त्र प्रहरीको यो कारबाहीलाई तस्करी नियन्त्रणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। अधिकारीहरूले सीमाक्षेत्रमा निगरानी थप कडा बनाइने र अवैध गतिविधिमा संलग्न व्यक्तिहरूको खोजी जारी रहेको बताएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close