
वीरगञ्जमा सञ्चालनमा रहेका केही क्लिनिक, अल्ट्रासाउन्ड सेन्टर तथा स्वास्थ्य संस्थाहरूले कानुनविपरीत भ्रूणको लिंग पहिचान गराई छोरी भएको थाहा पाएपछि गर्भपतन गराउने कार्यमा संलग्न रहेको भन्दै गम्भीर आरोपहरू सार्वजनिक हुन थालेका छन्।
स्थानीय स्तरमा प्राप्त सूचनाअनुसार केही परिवारले लगातार छोरी जन्मिने सम्भावना देखिएपछि अल्ट्रासाउन्डमार्फत भ्रूणको लिंग पहिचान गरी छोरी भएको अवस्थामा गर्भपतन गराउने गरेको आशंका व्यक्त गरिएको छ। यस कार्यमा केही स्वास्थ्यकर्मी, अल्ट्रासाउन्ड सेवा प्रदायक तथा प्रयोगशालाहरूको समेत संलग्नता हुन सक्ने भन्दै निष्पक्ष छानबिनको माग उठ्न थालेको छ।
छोरा र छोरीबीच विभेद गर्दै गर्भमै छोरीको जीवन समाप्त गर्ने कार्य मानवता, नैतिकता र कानुन तीनै दृष्टिले गम्भीर अपराध हो। महिला अधिकार, बालअधिकार तथा लैंगिक समानतामाथि प्रत्यक्ष प्रहार गर्ने यस्ता गतिविधिले समाजमा विकृत मानसिकता झल्काउने सरोकारवालाहरू बताउँछन्।
यदि यस्ता गतिविधि वास्तवमै भइरहेको हो भने सम्बन्धित निकायले तत्काल अनुगमन, अनुसन्धान र दोषीमाथि कडा कानुनी कारबाही गर्न आवश्यक देखिन्छ। छोरीलाई बोझ र छोरालाई मात्र वंश धान्ने आधार ठान्ने संकीर्ण सोचका कारण निर्दोष जीवन गर्भमै समाप्त हुने अवस्था अन्त्य हुनुपर्छ।
लिंग पहिचान गरी गर्भपतन गराउने तथा गराउन सहयोग गर्ने जो–कोहीमाथि कडा कारबाही होस्। छोरीप्रति हुने यस्तो घृणित विभेद रोक्न सरकार, स्वास्थ्य निकाय र समाज सबैको ध्यान जाओस्।



