
प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, वीरगञ्जको आयोजनामा आर्थिक वर्ष २०८२/८३ को न्यूनतम सेवा मापदण्ड (एमएसएस) संयुक्त मूल्याङ्कन सम्पन्न भएको छ। कार्यक्रममा अस्पतालले सेवा प्रवाहको गुणस्तर, न्यूनतम सेवा मापदण्डको कार्यान्वयन तथा संस्थागत सुधारका विषयमा विस्तृत प्रस्तुति गर्दै हालसम्म भएका प्रगतिबारे जानकारी गराएको थियो।
प्रस्तुतीकरणका क्रममा अघिल्लो मूल्याङ्कनपछि तयार गरिएको कार्ययोजनाको समीक्षा गर्दै इनभर्टर, प्रोजेक्टर तथा सिसिटिभी जडान, विद्युत् आपूर्ति व्यवस्थापन, खानेपानी तथा पानीको गुणस्तर परीक्षण, उपकरणको जीवाणुमुक्तीकरण (स्टेरिलाइजेसन), सङ्क्रमण रोकथाम तथा नियन्त्रण, यातायात तथा सञ्चार व्यवस्थापन तथा भण्डारण व्यवस्थापनलगायतका अधिकांश कार्य सम्पन्न भएको जानकारी दिइयो। यद्यपि फोहोर पुनःप्रशोधन, विपद् अभिमुखीकरण तथा तरल फोहोर व्यवस्थापनका केही कार्य अझै सम्पन्न हुन बाँकी रहेको अस्पतालले जनाएको छ।

अस्पतालको आन्तरिक मूल्याङ्कनअनुसार एमएसएस स्कोर क्रमशः ८३.८२ प्रतिशत, ८३.९८ प्रतिशत हुँदै पछिल्लो मूल्याङ्कनमा ८५.०५ प्रतिशत पुगेको छ। यसले अस्पतालको सेवा गुणस्तरमा निरन्तर सुधार भइरहेको संकेत गरेको प्रस्तुतिमा उल्लेख गरिएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै अस्पतालका कार्यालय प्रमुख डा. शिवनारायण गुप्ताले आर्थिक वर्ष २०८२/८३ मा असोज, माघ र जेठ महिनामा गरी वर्षमा तीन पटक एमएसएस संयुक्त मूल्याङ्कन गरिएको जानकारी दिए। उनले मधेश प्रदेश स्वास्थ्य मन्त्रालयबाट करिब ६ लाख रुपैयाँ बजेट विनियोजन भएको उल्लेख गर्दै अपुग उपकरण तथा सामग्रीको व्यवस्थापन गर्न थप सहयोग आवश्यक रहेको बताए। आवश्यक स्रोतसाधन उपलब्ध भए सेवा प्रवाह अझ प्रभावकारी र सहज हुने उनको भनाइ थियो।
स्वास्थ्य निर्देशनालयकी सुनिता गुप्ताले न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा अस्पतालले पहिलो चरणमा ८७ प्रतिशत अंक प्राप्त गरेको तथा दुई पटकको एमएसएस संयुक्त मूल्याङ्कनमा ‘हरियो’ श्रेणी कायम राख्न सफल भएको जानकारी दिइन्।
प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष अनिल कुमार सिंहले मधेश प्रदेश स्वास्थ्य मन्त्रालयको अभिलेखमा अस्पतालले उत्कृष्ट नतिजा हासिल गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सेवा गुणस्तर अझ सुदृढ बनाइने बताए।
कार्यक्रमको अध्यक्षता व्यवस्थापन समितिका अध्यक्ष अनिल कुमार सिंहले गरेका थिए। प्रमुख अतिथिका रूपमा स्वास्थ्य निर्देशनालयका प्रमुख डा. इन्द्रजीत रजक उपस्थित थिए भने विशिष्ट अतिथिहरूमा हिरालाल साह कानु, सुनिता गुप्ता, शिवानी कार्की तथा कार्यालय प्रमुख डा. शिवनारायण गुप्ता रहेका थिए। कार्यक्रममा डा. मनिषा झा, डा. नम्रता रजक, राहुल विक्रम साह, नेपाल पत्रकार महासङ्घ पर्साका सदस्य राहुल गुप्ता लगायत चिकित्सक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको समापनमा अस्पताल प्रशासनले न्यूनतम सेवा मापदण्डका सबै सूचक पूर्ण रूपमा कार्यान्वयन गर्दै गुणस्तरीय, सुरक्षित तथा प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।



