
वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) अन्तर्गतको नेपालिज यंग इन्टरप्रेनर्स फोरम (NYEF) वीरगञ्ज च्याप्टरको छैटौँ वार्षिक साधारणसभा (6th Annual General Meeting–AGM) शुक्रबार वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोमा सम्पन्न भएको छ। साधारणसभाले सर्वसम्मत रूपमा चन्दन सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै युवा उद्यमशीलतालाई थप प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता जनाएको छ।

च्याप्टरका अध्यक्ष विश्वास प्रताप साहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा वीरगञ्ज उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष हरिप्रसाद गौतम सहभागी थिए। कार्यक्रममा उद्योगी, व्यवसायी, शिक्षाविद्, सामाजिक अगुवा तथा युवा उद्यमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रमुख अतिथि गौतमले नेपालको आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि युवा उद्यमीहरूको सक्रिय भूमिका अपरिहार्य रहेको बताए। उनले व्यवसायमा नवीन सोच, आधुनिक प्रविधिको प्रयोग र प्रतिस्पर्धात्मक क्षमता विकासमा जोड दिँदै युवा पुस्तालाई अवसर सिर्जना गर्ने वातावरण निर्माणका लागि सबै सरोकारवाला एकजुट हुनुपर्ने धारणा राखे।
वीरगञ्ज उद्योग वाणिज्य संघले युवा उद्यमशीलता विकासका अभियानमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले अनुभवी व्यवसायी र नयाँ पुस्ताका उद्यमीबीच ज्ञान, अनुभव तथा सीप आदानप्रदानको संस्कृति विकास गर्नुपर्ने आवश्यकता औँल्याए।
वरिष्ठ डा. निरज सिंहले बदलिँदो विश्व अर्थतन्त्रसँगै उद्यमशीलताको स्वरूप परिवर्तन भइरहेकाले युवा पुस्ताले अनुसन्धान, नवप्रवर्तन, प्रविधिमैत्री सोच र नेतृत्व क्षमताको विकासमार्फत प्रतिस्पर्धात्मक व्यवसाय निर्माण गर्नुपर्ने बताए। त्यस्तै डा. सुबोध गुप्ताले उद्यमशीलता केवल नाफा कमाउने माध्यम नभई राष्ट्रको आर्थिक विकासको आधार भएको उल्लेख गर्दै गुणस्तरीय उत्पादन, व्यावसायिक नैतिकता र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं वरिष्ठ उद्योगपति गणेश लाठ, मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाई, सुदीप घिमिरे, NYEF वीरगञ्जका पूर्व अध्यक्ष पंकज अग्रवाल, वरिष्ठ उद्योगपति अशोक वैद्य, राकेश मिश्रा, शम्भु प्रसाद गुप्ता, धिरेन्द्र सिंह, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष माधव राजपाल, यात्रा डेलीका संस्थापक राम सरार्फ, नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ पर्साका सदस्य राहुल गुप्ता, अनूप अग्रवाललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन दीप प्रज्वलनबाट गरिएको थियो भने ममता विद्यालयका विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए। च्याप्टरका दोस्रो उपाध्यक्ष मोहित गुप्ताले स्वागत मन्तव्य राख्दै NYEF ले युवा उद्यमीहरूलाई नेतृत्व विकास, व्यवसाय विस्तार, नेटवर्किङ तथा नवप्रवर्तन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए।
साधारणसभामा वर्षभरि सञ्चालन भएका कार्यक्रम, तालिम, अन्तरक्रिया तथा सामाजिक उत्तरदायित्वका गतिविधिसम्बन्धी वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। प्रतिवेदनमाथि छलफल गर्दै आगामी वर्षका प्राथमिकता, संस्थागत विकास, क्षमता अभिवृद्धि तथा युवा उद्यमीहरूको व्यवसाय विस्तारका रणनीतिबारे समीक्षा गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले डिजिटल व्यवसाय, स्टार्टअप संस्कृति, नवप्रवर्तन तथा रोजगारी सिर्जनामा युवाको भूमिका अझ प्रभावकारी बनाउन निजी क्षेत्र र शैक्षिक संस्थाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
साधारणसभाबाट सर्वसम्मत रूपमा निर्वाचित नयाँ नेतृत्वले संस्थालाई अझ गतिशील, प्रभावकारी र परिणाममुखी बनाउँदै युवा उद्यमीहरूको क्षमता विकास, व्यवसायिक नेटवर्क विस्तार तथा उद्यमशीलता प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको आयोजकले जनाएको छ।



