
प्रतिबद्धतामा नेपालीलाई रोजगारी, कार्यान्वयनमा सबै भारतीय
वीरगंजस्थित सर्वोत्तम स्टिलको कारखानामा १० भदौ २०७८ मा भएको विष्फोटमा परी पाँच मजदूरको मृत्यु भएको पुष्टि भएको छ । उक्त घटनाका घाइते ६ जना मध्ये ५ जनाको भारतको पटनास्थित एपोलो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका तत्कालीन प्रहरी उपरीक्षक(एसपी) बेलबहादुर पाण्डेले जानकारी दिएका थिए । मृतक सबै भारतीय नागरिक हुन् ।
मृत्यु हुनेमा बिहारका ५२ वर्षीय विनोद पाण्डे, २७ वर्षीय गगन नायक बिहारी, उत्तर प्रदेशको खुशीनगरका ३२ वर्षीय धिरु सहनी, उत्तर प्रदेशकै लखनउका ३७ वर्षीय मानस परिदा र ३० वर्षीय रामपुकार यादव रहेका छन् । देशको विभिन्न ठाउँबाट संकलन गरी ल्याइएको फलामे कबाड गलाउने क्रममा एलपीजी ग्यासको सिलिण्डर भट्टीमा विष्फोट हुँदा १५ जना घाइते भएका थिए ।
विष्फोटमा परी घाइते भएका मध्ये १६ भदौमा तीन जनाको र १८ गते दुई जनाको मृत्यु भएको थियो । सौरभ ग्रुपद्वारा संचालित वीरगंज महानगरपालिका –२२ मनिहारीस्थित स्टिल कारखानाको भट्टीमा गत १० भदौमा विष्फोट भएको थियो ।
घाइतेहरूलाई लुकिछिपी बिहारको राजधानी पटना पुर्याइएको एक कर्मचारीले नाम नखुलाउने सर्तमा अर्थसञ्जाललाई बताए । ‘विष्फोट भएको केही बेरमै सबै घाइतेलाई भारत तिर पठाइयो अनि घटना हुँदै नभएको झैँ देखाउन संचालकहरूले हरेक प्रकारका चलखेल गरिरहेका छन्,’ उनले भने ।
उनका अनुसार संचालक राजेश अग्रवाल घटना लुकाउन हरसम्भव प्रयास गरिरहेका छन् ।
यसअघि घटना भएकै दिन पनि घटनास्थलमा सञ्चारकर्मीलाई समेत जान नदिइ मूल गेटबाटै उद्योग व्यवस्थापनले फर्काइदिएको थियो । वीरगञ्जमै सुविधा सम्पन्न ठूला अस्पतालहरू भएपनि घटनाको वास्तविकता बाहिर सार्वजनिक नहोस् भनेर उद्योग व्यवस्थापनले घटना भएकै दिन ६ जना मजदुरलाई उपचारका लागि भन्दै रातारात भारतको पटना लगेको थियो ।

घटना भएकै दिन वीरगन्जको अस्पतालमा उपचारत मजदुरले सन्चारकर्मीलाई उद्योगकै लापरवाहीका कारण भट्टी पड्किएर आगो लागेको रहस्य खोलेपछि त्यही दिन रातारात ती मजदुरसहित ६ जना घाइतेलाई पटना लगिएको थियो । घटनालाई लुकाउने प्रयासमा रहेका उद्योगका संचालकहरूले अहिलेसम्म मृतकहरूको नाम समेत खुलाएका छैनन् ।
बिग्रेका सिलिण्डरहरू गलाउने क्रममा सेफ्टी अपनाउनु पर्ने, सिलिण्डरमा ग्यास रहे/नरहेको पत्ता लगाउनु पर्ने भएपनि लापरवाही गर्दा विष्फोट भएको थियो ।
जनतालाई उच्चस्तरको छड उपलब्ध गराउने प्रतिबद्धताका साथ खोलिएको सर्वोत्तम स्टिल लिमिटेडले कबाडीहरूले संकलन गरेको कबाडबाट छड उत्पादन गरिरहेको उक्त दुर्घटनाले पुष्टि गरेको छ ।
सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम स्टिल लिमिटेडका संचालक राजेश अग्रवालले केपी ओली प्रधानमंत्री रहेको बेला मनी लण्ड्रीगलगायतका अवैध कार्य गरेर एक सय बीस करोड भन्दा बढी घोटाला गरेका खबरहरू सार्वजनिक भएका थिए ।
फ्रेश ब्लेड पगालेर उत्कृष्ट स्तरको छड निर्माण गर्नु पर्नेमा त्यो नगरी पुराना काम नलाग्ने फलामका कबाड प्रयोग गरी छड निर्माण गरी उपभोक्ता ठग्ने राजेश अग्रवालले आफ्नो पावर प्रयोग गरेर पत्रकारहरूलाई घटनास्थलमा जान रोक्न प्रयास गरेता पनि सत्यतथ्य बाहिर आएको हो ।
स्थानीय प्रहरी प्रशासनको भूमिका यो घटनामा सन्तोषजनक नभएको पत्रकारहरूको गुनासो छ । भारत झारखंड चाईबासाबाट जीविकोपार्जनका लागि बीरगंज आएका अग्रवाल ब्रदर्सका अगाडि सरकार र स्थानीय प्रशासनसमेत निरीह बनेको छ । प्रदेशका मुख्यमंत्री लालबाबु राउत राजेश अग्रवालका प्रमुख सेवक नै भएको चर्चा छ ।
यसका साथै वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको पनि यस घटनामा संलग्नता रहेको खुलेको छ । मेयर सरावगी स्टिल उद्योगका सञ्चालक अग्रवालका सम्धी हुन् । उनी हाल जनता समाजवादी पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् । मेयर सरावगीले आफ्नो सम्धी अग्रवालका अवैध कारोबार लुकाउन विभिन्न हतकण्डा अपनाउने गरेको समेत खुलेको छ । मेयर सरावगी आसन्न निर्वाचनमा वीरगञ्जबाट मेयरका आकांक्षीसमेत हुन् ।
यस विषयमा मेयर सरावगीसँग कुराकानी गर्न खोज्दा आफूसँग नभइ प्रहरी प्रशासनसँग कुरा गर्नु भन्दै फोन काटिदिए । ‘म अहिले चुनावको काममा व्यस्त छु, यस्ता कुरा मसँग नगर्नुहोस् प्रहरी र सम्बन्धित निकायमा गएर बुझ्नुहोस्,’ उनले भने ।
तीन अर्ब सत्ताइस करोडको लगानीमा बनेको सर्वोत्तम स्टिल लिमिटेडले ३३७ जना नेपालीलाई रोजगारी दिने उधोग विभागमा प्रतिबद्धता जनाएता पनि राजेशले ९५ प्रतिशत भारतीयहरूलाई जागिर दिएको यो घटनाले पुष्टि गरेको छ । source:- अर्थ सन्जालबाट




