
लायन्स क्लब अफ वीरगञ्ज मेट्रो सिटीको वर्ष २०२५–२६ को पद हस्तान्तरण तथा वर्ष २०२६–२७ को पदभार ग्रहण कार्यक्रम शनिबार वीरगञ्जस्थित होटल मकालुमा भव्य रूपमा सम्पन्न भएको छ।
क्लबका निवर्तमान अध्यक्ष लायन उमेश कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिस्ट्रिक्ट गभर्नर–इलेक्ट (DGE) एमजेएफ लायन राम बिहारी पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा मल्टिपल को-अर्डिनेटर पीडीजी पीएमजेएफ लायन डी.एन. अग्रवाल, डिष्ट्रिक्ट एक्जिक्युटिभ चिफ एमजेएफ लायन बसु तिमल्सिना, डिष्ट्रिक्ट एक्जिक्युटिभ को–चिफ तथा क्लबका चार्टर प्रेसिडेन्ट एमजेएफ लायन अशोक कुमार बेरीवाल, एरिया चिफ लायन रमेश्वर प्रसाद गुप्ता, जोनल चेयरपर्सन लायन डा. लक्ष्मी थापा, भारतको रक्सौल लायन्स क्लबका अध्यक्ष लायन बिमल सर्राफ, लायन पूनम सर्राफ, गाइडिङ लायन नारोत्तम पाण्डे लगायत विभिन्न लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्वागत मन्तव्यका क्रममा चार्टर प्रेसिडेन्ट एमजेएफ लायन अशोक कुमार बेरीवालले क्लबले छोटो अवधिमै सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउन सफल भएको बताउनुभयो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा निवर्तमान अध्यक्ष लायन उमेश कुमार गुप्ता र नवनिर्वाचित अध्यक्ष लायन पिया सिंहबीच क्लबको मिनेट बुक तथा आवश्यक कागजात हस्तान्तरण गरी औपचारिक रूपमा नेतृत्व परिवर्तन गरिएको थियो।
पदभार ग्रहणपछि अध्यक्ष लायन पिया सिंहले आगामी कार्यकालका लागि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा नेतृत्व विकास तथा मानवीय सेवालाई प्राथमिकतामा राखेर प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले क्लबलाई अझ सशक्त, सक्रिय र सेवामुखी बनाउने उद्देश्यका साथ नयाँ सदस्यहरूलाई समेटेर नयाँ कार्यसमिति समेत घोषणा गर्नुभएको छ।
नयाँ कार्यसमितिमा अध्यक्षमा लायन पिया सिंह, प्रथम उपाध्यक्षमा लायन अंकित चौरसिया, द्वितीय उपाध्यक्षमा लायन प्रभात आनन्द सिंह, तृतीय उपाध्यक्षमा लायन रबीन श्रेष्ठ, सचिवमा लायन नेल्सन भण्डारी, सहसचिवमा लायन प्रसिद्धि आनन्द सिंह तथा कोषाध्यक्षमा लायन खुशबू गुप्ता चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा लायन श्वेता गुप्ता, लायन कोमल गुप्ता, लायन श्रुति गुप्ता, लायन नवनीता सिंह तथा लायन संजना बरनवाल रहनुभएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै जोनल चेयरपर्सन लायन डा. लक्ष्मी थापा, डिष्ट्रिक्ट एक्जिक्युटिभ चिफ एमजेएफ लायन बसु तिमल्सिना, मल्टिपल को-अर्डिनेटर पीडीजी पीएमजेएफ लायन डी.एन. अग्रवाल तथा प्रमुख अतिथि डीजीई एमजेएफ लायन राम बिहारी पाण्डेले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै समाज सेवाका क्षेत्रमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
यसै अवसरमा अध्यक्ष लायन प्रिया सिंहले सफल कार्यकाल सम्पन्न गर्नुभएकोमा निवर्तमान अध्यक्ष लायन उमेश कुमार गुप्तालाई सम्मानस्वरूप ‘टोकन अफ लभ’ प्रदान गर्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा निवर्तमान अध्यक्ष लायन उमेश कुमार गुप्ताले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, लायन सदस्य, शुभेच्छुक तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रमले लायन्स क्लब अफ वीरगञ्ज मेट्रो सिटीमा नयाँ नेतृत्वको औपचारिक सुरुवातसँगै सामाजिक सेवाप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।



