
रौतहट । रौतहट जिल्लाका विभिन्न प्रहरी युनिटमा सादा पोशाकमा खटिने भनिएका ‘घुमुवा प्रहरी’को नाममा व्यापारीमाथि धम्की दिने, अवैध रकम असुल्ने तथा अधिकारको दुरुपयोग गर्ने गतिविधि बढेको भन्दै स्थानीयले गम्भीर गुनासो गरेका छन्।
स्थानीय स्रोतका अनुसार मुनिलाल गुप्ता, जो इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर मा कार्यरत वरिष्ठ हवल्दार हुन्, उनले व्यापारीहरूलाई प्रहरी कार्यालयमा बोलाएर मुद्दा हाल्ने, थुनामा राख्ने तथा विभिन्न कानुनी कारबाहीको डर देखाउँदै आर्थिक दबाब दिने गरेको आरोप लागेको छ।
स्थानीय व्यापारीहरूले यस्ता गतिविधिका कारण व्यवसाय सञ्चालन गर्नै कठिन भएको र आफूहरू त्रासको वातावरणमा बस्न बाध्य भएको बताएका छन्।
यस्तै, प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालय ले सादा पोशाकमा प्रहरी परिचालन गर्ने कार्यमा रोक लगाइसकेको अवस्थामा समेत मधेस प्रदेशका केही क्षेत्रमा यस्तो अभ्यास नरोकिएको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
त्यसैगरी जिल्लाको मध्य क्षेत्र मानिने गरुडा क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय शिवनगर मा कार्यरत सहायक हवल्दार रतन यादव माथि पनि गम्भीर आरोप लागेको छ। उनी अपराध अनुसन्धानमा केन्द्रित हुनुपर्ने जिम्मेवारीमा रहे पनि व्यापारिक प्रयोजनमा संलग्न भई व्यापारीलाई अनावश्यक दुःख दिने र आफ्ना हाकिमलाई खुसी पार्ने गतिविधिमा लागेको आरोप स्थानीयको छ।
स्थानीयका अनुसार रौतहटका अधिकांश प्रहरी युनिटमा ‘घुमुवा प्रहरी’को नाममा कर्मचारी परिचालन गरी अवैध असुलीको कार्य भइरहेको छ। नियमविपरीतका गतिविधिमा संलग्न भए पनि सम्बन्धित निकायले प्रभावकारी अनुगमन तथा कारबाही नगरेको उनीहरूको गुनासो छ।
यस विषयमा प्रतिक्रिया दिँदै सिताराम रिजाल ले जिल्लामा सादा पोशाकमा प्रहरी परिचालन नगरिएको स्पष्ट पारे। उनले कुनै प्रहरी कर्मचारी नियमविपरीत सादा पोशाकमा परिचालित भएको वा अधिकारको दुरुपयोग गरेको प्रमाणित भए कानुनबमोजिम आवश्यक कारबाही गरिने बताए। सभार- प्रदेश डायरीबाट




