
वीरगन्जको ऐतिहासिक तथा आस्थाको केन्द्र श्री गहवामाई मन्दिरको ‘माई विशाल रथ यात्रा’लाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सरोकारवाला संस्थाहरूले तयारीलाई तीव्र बनाएका छन्। आगामी असार ३२ गते हुने रथ यात्राको व्यवस्थापनलाई प्रभावकारी बनाउन वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको अध्यक्षतामा महानगरको सभाहलमा उच्चस्तरीय समन्वय बैठक सम्पन्न भएको हो।
बैठकमा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल विद्युत प्राधिकरण, खानेपानी संस्थान, दूरसञ्चार सेवा प्रदायक तथा आयोजक समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकले रथ यात्रा मार्ग, सम्भावित भक्तजनको चाप तथा धार्मिक संवेदनशीलतालाई ध्यानमा राख्दै विभिन्न निकायको जिम्मेवारी स्पष्ट रूपमा बाँडफाँड गरेको छ।
रथ यात्रामा सहभागी हुने लाखौँ श्रद्धालुको सुरक्षालाई प्राथमिकतामा राख्दै जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र नगर प्रहरी संयुक्त रूपमा परिचालन गरिने निर्णय गरिएको छ। साथै ट्राफिक व्यवस्थापनलाई समेत चुस्त बनाइनेछ।
रथ यात्रा अवधिभर यात्रा मार्गको सरसफाइका लागि वीरगन्ज महानगरपालिकाले आवश्यक जनशक्ति र स्रोत–साधन परिचालन गर्नेछ। निजी क्षेत्र, आयोजक समिति तथा सामाजिक संघसंस्थाले पनि फोहोर व्यवस्थापनमा सहकार्य गर्नेछन्।
भक्तजनको सुविधाका लागि यात्रा मार्गका विभिन्न स्थानमा शुद्ध खानेपानी वितरणको व्यवस्था मिलाइने भएको छ। त्यसैगरी नेपाल विद्युत प्राधिकरणले रथ यात्रा अवधिभर निर्बाध विद्युत आपूर्ति तथा वितरण प्रणालीको विशेष निगरानी र मर्मतसम्भार गर्नेछ।
भीडका कारण सञ्चार सेवामा अवरोध नआओस् भन्ने उद्देश्यले नेपाल टेलिकमलगायत दूरसञ्चार सेवा प्रदायकहरूलाई नेटवर्क क्षमता सुदृढ बनाउन आग्रह गरिएको छ। रथ यात्राको धार्मिक मर्यादा, पवित्रता र स्वच्छताको प्रत्यक्ष अनुगमन तथा व्यवस्थापनको जिम्मेवारी आयोजक समितिले नै सम्हाल्नेछ।
बैठकलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले गहवामाई रथ यात्रा वीरगन्ज मात्र नभई सम्पूर्ण मधेश प्रदेशकै गौरव र सांस्कृतिक पहिचान भएको उल्लेख गर्दै यसलाई ऐतिहासिक रूपमा सफल बनाउन महानगरपालिकाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सम्बन्धित सबै सरकारी तथा गैरसरकारी निकायलाई तोकिएको जिम्मेवारी समयमै र प्रभावकारी रूपमा पूरा गर्न निर्देशनसमेत दिनुभयो।
आयोजक समितिले पनि रथ यात्रालाई मर्यादित, सुरक्षित र सफल बनाउन सम्पूर्ण वीरगन्जबासी, उद्योगी, व्यवसायी, सामाजिक संघसंस्था तथा सञ्चारकर्मीलाई सक्रिय सहयोगका लागि हार्दिक अपिल गरेको छ।



