अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र अव्यवस्थित तथा लथालिङ्ग अवस्थामा छाडिएका इन्टरनेटका तारका कारण सहरी सौन्दर्य बिग्रिनुका साथै दुर्घटनाको जोखिम बढ्दै गएपछि महानगरपालिकाले यसको व्यवस्थापनका लागि पहल थालेको छ।

नगरको तीव्र शहरीकरण, संरचना मर्मतका क्रममा उत्पन्न हुने मलबा व्यवस्थापनमा देखिएको कठिनाइ तथा विशेषगरी गर्मी मौसममा हुन सक्ने आगलागीको जोखिमलाई मध्यनजर गर्दै महानगरपालिकाले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई छलफलका लागि बोलाएको हो। कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको विशेष चासोपछि तार व्यवस्थापन, नियमित मर्मत तथा सहरी सौन्दर्यीकरणलाई व्यवस्थित बनाउन यो पहल गरिएको जनाइएको छ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराद्वारा जारी सूचनाअनुसार महानगर क्षेत्रमा सेवा सञ्चालन गरिरहेका सम्पूर्ण इन्टरनेट सेवा प्रदायक कम्पनीका आधिकारिक प्रतिनिधिलाई साउन २२ गते बिहान ११:०० बजे महानगरपालिकाको बैठक हलमा अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ।

सूचनामा तोकिएको बैठकमा अनुपस्थित हुने कम्पनीलाई असहयोगी मानिने तथा त्यसबाट उत्पन्न हुने कुनै पनि परिस्थिति र परिणामको सम्पूर्ण जिम्मेवारी सम्बन्धित कम्पनी स्वयंले व्यहोर्नुपर्ने चेतावनीसमेत दिइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close