
वीरगन्ज। कवाडी करको नाममा अवैध रूपमा रकम असुली गरेको आरोपमा पर्सा प्रहरीले थप एक जनालाई पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरस्थित ढाटबाट सोमबार राति स्थानीय ३५ वर्षीय अशोक प्रसाद यादवलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका यादवलाई म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
प्रवक्ता मल्लका अनुसार यसअघि पनि प्रहरीले सोही ढाटबाट एक जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो।
दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइए पनि कवाडी करको नाममा हुँदै आएको भनिएको अवैध असुली भने पूर्ण रूपमा रोकिएको छैन। स्थानीयका अनुसार जगरनाथपुर चोकस्थित सडक किनारमा त्रिपालको छाप्रो बनाएर केही युवाहरूले सवारीसाधनबाट कवाडी करका नाममा रकम असुल्दै आएका छन्।
प्रहरीले कारबाही थालेपछि पनि रातिको समयमा बिना रसिद रकम असुल्ने गरिएको स्थानीय प्रत्यक्षदर्शी तथा सवारी चालकहरूले बताएका छन्। उनीहरूले यस्तो असुलीलाई करभन्दा पनि जबर्जस्ती रकम उठाउने कार्यका रूपमा लिएका छन्।
गत आर्थिक वर्षमा वीरगन्ज महानगरपालिकाले कवाडी करको ठेक्का अमित ठेक्का पट्टलाई दिएको थियो। सम्झौताअनुसार पुरानो फलाम, प्लास्टिक, कागज, टायर–ट्युब लगायतका निश्चित कवाडी सामग्रीमा मात्र कर असुल्न पाउने व्यवस्था थियो। महानगरपालिकाका राजस्व शाखा प्रमुख मनोज कर्णका अनुसार नयाँ आर्थिक वर्षको साउन महिनाका लागि पनि पुरानै सम्झौताअनुसार ठेक्काको म्याद थप गरिएको थियो।
तर सम्झौताविपरीत आईसीपीबाट निस्कने मालवाहक भारतीय सवारीसाधनबाट समेत रकम असुली भइरहेको स्थानीयको आरोप छ। राजमार्गमा यसरी कर असुल्न नपाइने व्यवस्था हुँदाहुँदै महानगरपालिकाको नाममा अवैध असुली भइरहेको उनीहरूको दाबी छ।
स्थानीयले उक्त असुलीमा वीरगन्जका केही प्रभावशाली व्यक्ति, इलाका प्रहरी कार्यालय सुगौली तथा वीरगन्ज महानगरपालिकाका केही जनप्रतिनिधि र कर्मचारीको समेत मिलेमतो रहेको आरोप लगाएका छन्। यद्यपि, यी आरोपबारे सम्बन्धित पक्षको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।



