
सुख र दुःख जीवनका दुई यस्ता पक्ष हुन्, जो एकअर्काबिना अधुरा छन्। जीवन सधैँ हाम्रो इच्छाअनुसार चल्दैन। कहिले सफलता प्राप्त हुन्छ भने कहिले असफलता, कहिले खुसी आउँछ भने कहिले कठिन परिस्थितिहरू हाम्रो अगाडि उभिन्छन्। यिनै उतार–चढावले जीवनलाई वास्तविक अर्थ दिन्छन्।
उक्त विचार लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२२ ई, जोन ४१ का जोन चेयरपर्सन सह–डिस्ट्रिक्ट चेयरपर्सन एवं भारत विकास परिषद्, रक्सौलका सेवा संयोजक सह–मिडिया प्रभारी तथा सामाजिक कार्यकर्ता बिमल सर्राफले प्रेससँगको कुराकानीमा व्यक्त गरेका हुन्।
उनका अनुसार प्रत्येक व्यक्ति आफ्नो जीवनमा सुख, सफलता र सम्मान चाहन्छ। तर राम्रो परिस्थितिको मात्र अपेक्षा गरेर जीवन अघि बढ्न सक्दैन। जीवनमा कठिन समय पनि आउँछ र धेरै पटक हाम्रो निरन्तर मेहनतका बाबजुद परिणाम अपेक्षाअनुसार प्राप्त हुँदैन। तैपनि निरन्तर प्रयास गरिरहनु नै जीवनको सबैभन्दा ठूलो शक्ति हो।
प्रयास गर्दा हरेक परिस्थिति सधैँ हाम्रो पक्षमा हुन्छ भन्ने हुँदैन। तर प्रयासले हामीलाई आफ्ना गल्ती बुझ्ने, कमजोरी सुधार्ने र भविष्यमा तिनलाई दोहोरिन नदिने अवसर अवश्य दिन्छ।
हरेक बिहान हामी नयाँ संकल्पका साथ दिनको सुरुवात गर्छौँ। हामी चाहन्छौँ कि आज हिजोभन्दा राम्रो बनौँ, आफ्नो व्यक्तित्वमा केही नयाँ कुरा थपौँ र जीवनमा केही सार्थक काम गरौँ। तर हामीले आफैँसँग प्रश्न गर्न पनि आवश्यक छ—के हामीले आफ्ना कर्तव्य पूर्ण इमानदारीका साथ निर्वाह गरेका छौँ? के हाम्रो व्यवहारबाट कसैले प्रेरणा पाएको छ? के हामीले यस्तो केही गरेका छौँ, जसले अरूको नजरमा होइन, आफ्नै नजरमा हाम्रो कद उँचो बनाउन सकोस्?
जीवनको सबैभन्दा ठूलो उपलब्धि केवल पद, पैसा वा प्रतिष्ठा प्राप्त गर्नु होइन। वास्तविक सफलता त्यतिबेला प्राप्त हुन्छ, जब रातको एकान्तमा आफैँसँग नजर जुधाउँदा आफ्ना कर्मप्रति लाज होइन, सन्तोष र गर्वको अनुभूति हुन्छ।
धेरै पटक हामी आफ्ना कमजोरी र असफलताका लागि परिस्थितिलाई दोष दिन्छौँ र भन्छौँ—‘समयले साथ दिएन।’ तर हरेक पटक समयलाई दोष दिनु उचित हुँदैन। धेरै अवस्थामा परिस्थितिभन्दा बढी आफ्ना निर्णय, व्यवहार र कर्मको समीक्षा गर्न आवश्यक हुन्छ।
आजको बदलिँदो समाजमा सरलता, संवेदनशीलता, समानता, संघर्ष र मानवीय मूल्यहरूको महत्त्व झनै बढेको छ। कुनै व्यक्तिको वास्तविक पहिचान उसको पद वा सम्पत्तिबाट होइन, उसको आचरण, विचार र व्यवहारबाट हुन्छ।
हामीले यो पनि बुझ्नुपर्छ कि जुन बाटो वा नियम अरूका लागि सही छ, आवश्यक छैन कि त्यो हाम्रो लागि पनि सही होस्। बिना सोचविचार अरूको नक्कल गर्नु बुद्धिमानी होइन। आफ्नो विवेक, संस्कार र परिस्थितिअनुसार निर्णय लिन सक्नु नै परिपक्वता हो।
जीवनले हामीलाई हरेक दिन केही राम्रो गर्ने, कसैलाई सहयोग गर्ने, आफ्ना गल्ती सुधार्ने र आफूलाई हिजोभन्दा राम्रो मानिस बनाउने नयाँ अवसर प्रदान गर्छ।
त्यसैले हाम्रो प्रयास केवल मानिसहरूले हामीलाई राम्रो भनून् भन्नेमा सीमित हुनु हुँदैन। हाम्रो जीवन यस्तो हुनुपर्छ कि जब हामी आफैँसँग प्रश्न गरौँ, तब हाम्रो अन्तर्मनले पनि हामीलाई असल मानिसका रूपमा स्वीकार गरोस्।
कर्तव्यको वास्तविक मूल्य त्यतिबेला हुन्छ, जब कर्तव्य निर्वाह गर्दा हाम्रो नजर अरूको प्रशंसामा होइन, आफ्नै अन्तर्मनको स्वीकृतिमा केन्द्रित हुन्छ। किनकि दुनियाँको नजरमा ठूलो बन्न सजिलो हुन सक्छ, तर आफ्नै नजरमा ठूलो बन्नु नै जीवनको साँचो उपलब्धि हो।



