
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१४, गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी गाडी प्रयोग गरी वीरगञ्जस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन्। उनीसँगै इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप पौडेल पनि क्यासिनोबाटै पक्राउ परेका हुन्।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्य भइरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार जुवा खेलिरहेको अवस्थामा पर्सा सखुवा प्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय जसवन्त यादव, सोही स्थानका ३० वर्षीय चन्दन सहनी, वीरगञ्ज महानगरपालिका–११ का ३२ वर्षीय ओमप्रकाश बैठा र स्याङ्जा हरिनास गाउँपालिका–७ का ३६ वर्षीय नेपाल प्रहरीका (इन्स्पेक्टर) प्रदीप पौडेललाई नियन्त्रणमा लिइएको हो।
त्यसैगरी, नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउन संलग्न रहेको आरोपमा क्यासिनोका कर्मचारी वीरगञ्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरी पिपरा गाउँपालिका–५ घर भई हाल क्यासिनोमा कार्यरत ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साहलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लद्वारा जारी प्रेस विज्ञप्तिमा उनीहरूमाथि थप अनुसन्धान भइरहेको उल्लेख छ।
क्यासिनोमा नेपाली नागरिकको प्रवेश तथा जुवा खेल्ने/खेलाउने कार्य नियन्त्रणका लागि निगरानी तथा कारबाहीलाई निरन्तरता दिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।



