
वीरगन्ज । भारतको उत्तर प्रदेश आतंकवाद निरोधक दस्ता (यूपी एटीएस) ले पाकिस्तानस्थित प्रतिबन्धित आतंकवादी संगठन जैश–ए–मोहम्मदसँग सम्बन्ध रहेको आरोपमा बिहारका २४ वर्षीय युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बिहारको पूर्णिया जिल्लाको मीरगन्ज, रौटा थाना क्षेत्रका मोहम्मद जफर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनलाई अगस्ट १६ मा पक्राउ गरिएको र गैरकानुनी गतिविधि (रोकथाम) ऐन (यूएपीए) अन्तर्गत मुद्दा चलाइएको जनाइएको छ।
यूपी एटीएसका अनुसार जफरले मदरसाको नाममा मानिसहरूबाट चन्दा संकलन गरी उक्त रकम पाकिस्तानस्थित जैश–ए–मोहम्मदसँग सम्बन्धित सञ्जालसम्म पुर्याउने प्रयास गर्दै आएका थिए। एटीएसले संकलित रकम भारतमा ‘जिहाद’सँग सम्बन्धित गतिविधिमा प्रयोग गर्ने उद्देश्य रहेको आरोप लगाएको छ।
अनुसन्धानका क्रममा जफरको मोबाइलबाट पाकिस्तानी नागरिकसँग सम्बन्धित ह्वाट्सएप समूह फेला परेको एटीएसले जनाएको छ। ती समूहमा जिहाद तथा चन्दा संकलनसँग सम्बन्धित कुराकानी हुने गरेको आरोप छ।
एटीएसका अनुसार जफरले सामाजिक सञ्जालमार्फत जैश–ए–मोहम्मद प्रमुख मसुद अजहरका भाषण तथा जिहाद र ‘खिलाफत’सम्बन्धी सामग्रीसमेत साझा गर्ने गरेका थिए।

क्रिप्टोकरेन्सीमार्फत पाकिस्तान रकम पठाएको आरोप
अनुसन्धानका क्रममा पाकिस्तानसम्म रकम पुर्याउन क्रिप्टोकरेन्सी प्रयोग गरिएको विवरणसमेत खुलेको छ।
हिन्दुस्तान टाइम्सका अनुसार एटीएसले जफरले पाकिस्तानस्थित सम्पर्कहरूसँग सम्बन्ध स्थापित गरी बाइनान्समार्फत यूएसडीटीका रूपमा पटक–पटक रकम पठाएको आरोप लगाएको छ। पाकिस्तानको बैंक खातामा सिधै रकम पठाउने प्रारम्भिक प्रयास असफल भएपछि क्रिप्टोकरेन्सीमार्फत रकम स्थानान्तरण गरिएको अनुसन्धानकर्ताहरूको भनाइ छ।
अब चन्दाको रकम कहाँबाट संकलन गरिएको थियो, कस–कसले सहयोग गरेका थिए, कुन डिजिटल वालेट तथा खातामार्फत रकम पठाइएको थियो र अन्ततः रकम कसको हातमा पुगेको थियो भन्नेबारे विस्तृत आर्थिक अनुसन्धान भइरहेको जनाइएको छ।
मदरसामा अध्ययन गरेका थिए जफरले
भारतीय सञ्चारमाध्यमका अनुसार जफरले विगतमा मेरठस्थित एक मदरसामा अध्ययन गरेका थिए। एटीएसले त्यही समयदेखि उनी जिहाद तथा मुजाहिदसँग सम्बन्धित सामग्रीको सम्पर्कमा आएको र पछि जैश–ए–मोहम्मदका प्रमुख मसुद अजहरका भाषणबाट प्रभावित भएको दाबी गरेको छ।
जफरले सामाजिक सञ्जालमा जिहाद तथा हिंसात्मक गतिविधिलाई प्रोत्साहन गर्ने सामग्री फैलाएको आरोपसमेत एटीएसले लगाएको छ।
यूएपीएअन्तर्गत मुद्दा दर्ता
पीटीआईका अनुसार जफरविरुद्ध गैरकानुनी गतिविधि (रोकथाम) ऐनको धारा १८ र ३८ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
एटीएसले सोधपुछका क्रममा जफरले आफ्नो संलग्नता स्वीकार गरेको दाबी गरेको छ।



