तीन दशकदेखि प्रदूषणको शिकार सिर्सिया नदी ‘छठ पर्व’ को बेला पनि सफा भएन

एउटै विधि, एउटै पुजा, एउटै आस्था एवं विश्वास तर नदी सरसफाईमा भेदभाव किन ?

विगत तीन दशकदेखि प्रदूषणको शिकार बनेको सिर्सिया नदी ‘छठ पर्व’ को बेला पनि सफाई भएन । कात्तिक महिनामा हुने छठ पर्वको बेला त्यही नदीमा केही दिनको लागि भएपनि सफा पानी बग्छ, तर चैतमा हुने छठ पर्वको बेला नदी सफाई तर्फ कसैको ध्यान पुगेको छैन ।
कात्तिक महिनामा हुने छठ पर्वको बेला जनसारेकारबाट विरोध भएपछि केही दिन त्यही नदीमा सफा पानी बग्छ, पर्व सकेपछि पुनः त्यही पारामा कालो पानी बग्ने कार्य शुरु हुन्छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ स्थित रामवन झाडीबाट वीरगन्ज महानगरपालिका हुँदै भारतसम्म पुगेको सिर्सिया नदी विगत तीन दशकदेखि प्रदूषणको शिकार बनेको छ । सिमरा स्थित रामवन झाडीमा यसको मुहान छ । परवानीपुरको दक्षिणमा कियासुत नदी यसमा मिसिन्छ । वौद्यी खोला यसमै विलय हुन्छ । तर, वीरगन्ज नपुग्दै यो नदी औद्योगिक प्रदूषणको चपेटामा पर्छ । बारा, पर्सा क्षेत्रमा उद्योग–कारखाना बाक्लिएसँगै सिर्सिया प्रदूषित हुँदै गएको हो ।

यस क्षेत्रमा साना, मझौला र ठूला गरि करिब २५ सयको हाराहारीमा उद्योगहरु छन्, र प्रायः सबैले उत्सर्जित ठोस वा तरल फोहोरमैलाको उचित व्यवस्थापनमा ध्यान दिएका छैनन् । कतिपयले खुलेआम त अन्यले नदेखिने गरि भूमिगत नालाबाट सिर्सिया नदीमा फोहोर पानी मिसाउने गरेका छन् । नदीको प्रदूषणले सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदिना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँव, बेहरा, बलुवा, सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर र वीरगञ्ज महानगर क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित छन् ।

खास गरि छाला उद्योगहरुबाट छालाका टुक्रा, रौ का टुक्रा र फोहरयुक्त पानी सिधै नदीमा फोहरपानी मिसाउने गरिएको छ । त्यस्तै सिमेन्ट उद्योग, साबुन उद्योगहरुले आफ्नो छाईहरु नदीमै भण्डारण गर्ने गरेको छ भने जगरनाथपुर स्थित नदी छेउमा टनै टन छाईहरु थुपारिएको छ, त्यसबाट नदीको पानी प्रदूषण भई जलचर मरि सके, जुन पानीबाट छालाको रोग निको हुन्थ्यो आज त्यही पानीबाट क्यान्सर र मुटु रोगहरु हुने गरेको छ ।

आज चैती छठको तेश्रो दिन अर्थात अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर पुजा आजा गर्ने गरिन्छ । अघ्र्य दिन ब्रतालुहरु पवित्र जलायसको कम्मर भन्दा माथिसम्म पानीमा पसेर अघ्र्य दिने चलन छ । तर यस्तो कालो, केमिकलयुक्त प्रदूषित पानीमा कसरी पुजा गर्ने भन्ने स्थानीयहरुलाई चिन्ताले सताएको छ । पानी गन्हाउने समस्या उत्तिकै छ । कात्तिकमा हुने गरेको छठ पर्वको बेला सर्वसाधारणहरु सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएपछि केही दिनको लागि सफा पानी बग्छ, तर चैतमा हुने छठ पर्वको बेला कसैले ध्यान नदिएको कारण प्रदूषणयुक्त पानीमा पुजा गर्न ब्रतालुहरु बाध्य हुने गरेको स्थानीयहरुको गुनासो छ ।

यो सबै उद्योगहरुले फाल्ने गरेको फोहर पानी हो, छाला उद्योग सहित विभिन्न उद्योगबाट फाल्ने फोहरको कारण सधैै प्रदूषित रहेको यो नदी पर्वको बेला पनि सफाई हुन नसकेको स्थानीयहरुको भनाई छ । एउटै विधि, एउटै पुजा, एउटै विश्वास तर नदी सरसफाईमा भेदभाव हुने गरेको स्थानीयको गुनासो छ । कालो पानी बग्ने गरेको कारण दिनभरि गन्हाउने समस्या यथावत छ, यहाँका जनप्रतिनिधिदेखि अगुवाहरुलाई केही चिन्ता नरहेको उनीहरुको भनाई छ ।

यता वीरगंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष डा. सुबोध गुप्ताले यो नदी छठ पर्वको बेला मात्र नभई सधैंको लागि सफा हुनुपर्छ । यो नदी सफा गर्नको लागि उद्योगी मात्र नभई नेपाल सरकार, स्थानीय सरकार सबै मिलेर काम गर्नुपर्ने अवस्था छ भन्दै देशकै सबैभन्दा ठूलो औद्योेगिक कोरिडोर यस क्षेत्रमा हो, स्वभाविक रुपमा कुनै पनि औद्योगिक कोरिडोर नदीकै किनारमा अवस्थित हुन्छ र त्यस्को सम्पूर्ण उत्सर्जन नदीमै गएको हुन्छ । आउने दिनमा सम्पूर्ण उद्योगबाट पानी प्युरिफाई गरेर नदीमा फाल्न सके मात्रै नदी सफा हुने बताए ।

उनले नेपाल सरकारले आउने दिनमा यस क्षेत्रलाई औद्योगिक कोरिडोर क्षेत्र घोषणा गर्नुपर्छ, एउटा ठूलो लगानीमा वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण गर्नुपर्छ, तत्कालका लागि उद्योग वाणिज्य संघको पहलमा नदी सफा गर्ने प्रयास गरिएको छ, तर त्यही सफा हुन सकेको छैन, नदीमा बग्ने पानीको सतहमा फोहर जमि सकेको छ, जति सफा पानी आएपनि कालो नै देखिने भएकोले यसलाई दीर्घकालीन रुपमा सधैको लागि सफा गर्नुपर्ने तर्फ सबै लाग्नुपर्ने आवश्यक देखिएको बताए ।

यो पर्व चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ यो पर्व मनाइने गरिन्छ । शरद र वसन्त ऋतुमा गरि वर्षमा दुईपटक मनाइने यो पर्व सूर्य र सूर्यपत्नी षष्टीको उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व मनाइन्छ । यद्यपि शारदीय छठ जति यो पर्व मनाउने भने देखिदैनन् । पर्वको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, तेस्रो दिनअर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदा सूर्यलाई पवित्र जलाशयको घाटमा कम्मरसम्म पानीमा चोवलिएर अघ्र्य दिइन्छ, जसलाई ‘साँझको अघ्र्य’ भनिन्छ ।

अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई घाटमै अघ्र्य दिएर पर्व सम्पन्न गरिन्छ । यो विधिलाई ‘विहानी अघ्र्य’ एवं ‘पारन’ पनि भनिन्छ । छठ पर्वमा ठकुवा, भुसुवा (कसार) सहितका मिष्ठान्न परिकार सहित पाकेका केराको घरी र अन्य फलफूल तथा दही सहितका सामग्री बर्तालुुले अघ्र्यका बेला सूर्यतर्फ देखाउने गर्छन् । यो व्रतको प्रभावले हरेक मनोकाँक्षा पूरा हुने विश्वास गरिन्छ भने व्रतको प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ । birgunjtimes

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close