
वीरगञ्ज
डी.ए.भी./आर.बी. केडिया स्कुलमा प्रारुप एजुकेशन फाउन्डेसनद्वारा आयोजित दुई दिने संघीय नमुना संसद अभ्यास कार्यक्रम सुरु भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा मधेस विश्वविद्यालयका डिन अञ्जय मिश्र सहभागी भएका छन्।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वीरगञ्जका पूर्व नगरप्रमुख विजयकुमार सरावगी सहभागी भएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै सरावगीले विद्यार्थीहरूमा संसदीय अभ्यास, नेतृत्व क्षमता, तर्क प्रस्तुत गर्ने कला तथा लोकतान्त्रिक मूल्य–मान्यताको विकासका लागि यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताए। उनले विद्यार्थीलाई भविष्यका जिम्मेवार नागरिक तथा नेतृत्वका रूपमा तयार पार्न विद्यालय तहबाटै संसदको कार्यप्रणाली, नीति निर्माण र लोकतान्त्रिक अभ्यासबारे व्यवहारिक ज्ञान दिनुपर्नेमा जोड दिए।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा विद्यार्थीहरूले संघीय संसदको नमुना अभ्यास गर्दै सभामुख, सांसद तथा सरकारका विभिन्न भूमिकामा रहेर संसदीय प्रक्रिया र अभ्यासबारे व्यवहारिक अनुभव लिनेछन्। कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, वक्तृत्वकला, नेतृत्व क्षमता र समसामयिक विषयमा तार्किक ढंगले आफ्नो धारणा राख्ने क्षमताको विकासमा सहयोग पुग्ने आयोजकले जनाएको छ।



