
वीरगञ्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभर शनिबारदेखि वडा अधिवेशन सुरु भए पनि पर्सामा भने आइतबार मात्रै वडा अधिवेशन हुने भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज ३ र ४ गते वडा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। स्थानीय अनुकूलताअनुसार यी दुईमध्ये कुनै एक दिन वडा अधिवेशन गर्न सकिने व्यवस्था गरिएको छ।
पर्सामा भने आन्तरिक तयारी तथा क्रियाशील सदस्यताको विवरण सार्वजनिक हुन नसक्दा शनिबार वडा अधिवेशन सुरु हुन सकेन। अब जिल्लाका ११२ वटै वडामा आइतबार एकैपटक वडा अधिवेशन गर्ने तयारी गरिएको नेपाली कांग्रेस पर्साले जनाएको छ।
पर्सामा खटिएका कांग्रेस केन्द्रीय प्रतिनिधि भरत राउतका अनुसार शनिबार जिल्लाका शीर्ष नेतृत्वसँग छलफल गरी आवश्यक तयारी पूरा गरेर आइतबार सबै वडामा अधिवेशन गर्ने निर्णय गरिएको हो।
राउतका अनुसार पर्साका क्षेत्र नम्बर १, ३ र ४ को क्रियाशील सदस्यताको नामावली प्राप्त भइसकेको छ। क्षेत्र नम्बर २ को क्रियाशील सदस्यताको नामावली भने अझै पूर्ण रूपमा सार्वजनिक नभएकाले शनिबार जिल्लाका सबै वडामा एकैसाथ अधिवेशन सुरु गर्न समस्या भएको थियो।
क्षेत्र नम्बर २ का सभापति मोहम्मद साबुदिनले क्रियाशील सदस्यताको नामावलीमा धेरै नाम छुटेकाले शनिबार वडा अधिवेशन गर्न नसकिएको बताए। उनले छुटेका नामावली शनिबार नै सार्वजनिक हुने अपेक्षा गरिएको र त्यसपछि आइतबार क्षेत्र नम्बर २ का सबै वडामा उत्साहपूर्वक अधिवेशनमा सहभागी हुने तयारी रहेको बताए।
‘आज पर्साका शीर्ष नेतृत्वसँग छलफल गरेर आवश्यक तयारी पूरा गर्ने काम भएको छ। भोलिदेखि जिल्लाका सबै वडामा एकैपटक अधिवेशन गर्ने तयारी छ,’ केन्द्रीय प्रतिनिधि राउतले भने।
क्षेत्र नम्बर २ को क्रियाशील सदस्यताको नामावली सार्वजनिक भएपछि अधिवेशन प्रक्रिया अघि बढाउन सहज हुने उनले बताए।
यसैबीच, शनिबार नेपाली कांग्रेस पर्साको पार्टी कार्यालयमा जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा बैठक बसेको थियो। बैठकले असोज ४ गते आइतबार पर्साका सबै ११२ वटै वडामा वडा अधिवेशन गर्ने निर्णय गरेको छ।
बैठकमा कांग्रेस केन्द्रीय सदस्यहरू रमेश रिजाल, सुरेन्द्र चौधरी, रामरूप कुर्मी र अजयकुमार चौरसियाका साथै पर्साका उपसभापति रामनारायण कुर्मी, महाधिवेशन प्रतिनिधि ओमप्रकाश खनाल, राजेश सिंह, क्षेत्र नम्बर १ का सभापति अरबिन्द गुप्ता, क्षेत्र नम्बर २ का सभापति मोहम्मद साबुदिनलगायतको सहभागिता रहेको थियो।
कांग्रेसको संशोधित केन्द्रीय कार्यतालिकाअनुसार असोज ७ गते गाउँ–नगरपालिका अधिवेशन र असोज १० गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यक्रम छ। केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कार्यतालिका छ।
देशभर कांग्रेसका ६ हजार ७४३ वडामा वडा अधिवेशन हुँदैछ। वडा अधिवेशनबाट वडा कार्यसमिति चयनसँगै माथिल्लो तहका लागि आवश्यक प्रतिनिधि छनोट हुने छन्।




