सदस्यता शुद्धीकरणका लागि एक महिनाभित्र कार्यदल बनाउने सहमति, पत्रकार महासंघ पर्साको तालाबन्दी खुल्ने

सदस्यता शुद्धीकरणका लागि एक महिनाभित्र कार्यदल बनाउने सहमति, पत्रकार महासंघ पर्साको तालाबन्दी खुल्ने

नेपाल पत्रकार महासंघ पर्सा शाखामा सदस्यता शुद्धीकरण तथा अभिलेखीकरणको माग गर्दै गरिएको तालाबन्दी खोल्ने सहमति भएको छ।

सदस्यता शुद्धीकरण तथा अभिलेखीकरणको माग गर्दै महासंघ पर्सा शाखाका निर्वर्तमान अध्यक्ष एवं सल्लाहकार अनुप तिवारीको संयोजकत्वमा रहेको सदस्यता शुद्धीकरण संघर्ष समिति र महासंघ पर्सा शाखाबीच सोमबार तीनबुँदे सहमति भएको हो।

सहमतिअनुसार नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यसमितिले एक महिनाभित्र सदस्यता शुद्धीकरण तथा अभिलेखीकरणका लागि कार्यदल गठन गरी आवश्यक प्रक्रिया अघि बढाउने भएको छ।

त्यस्तै, सदस्यता शुद्धीकरण तथा अभिलेखीकरणका लागि गठन हुने कार्यदललाई प्रक्रिया अघि बढाउन सहज हुने गरी महासंघका तत्कालीन निर्णय पुस्तिकालगायत आवश्यक कागजात तत्कालीन सचिवले आगामी कार्यसमिति बैठक बस्नुअघि उपलब्ध गराउने सहमति भएको छ।

सहमति पत्रमा उल्लेखित बुँदाअनुसार सदस्यता शुद्धीकरण तथा अभिलेखीकरणको प्रक्रिया अघि बढाउने सहमति भएपछि महासंघ पर्सा शाखामा लगाइएको तालाबन्दीसमेत खोल्ने निर्णय भएको हो।

तालाबन्दी खोल्ने तथा सदस्यता शुद्धीकरण र अभिलेखीकरणको प्रक्रिया अघि बढाउने सम्बन्धमा २०८३ असोज ५ गते सहमति भएको हो।

सहमति पत्रमा सदस्यता शुद्धीकरण संघर्ष समितिका संयोजक अनुप तिवारी र नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले हस्ताक्षर गरेका छन्।

सहमतिको साक्षीमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, पर्सा शाखाका उपाध्यक्ष भूषण यादव, पूर्वउपाध्यक्ष युवराज खड्का, युवा पत्रकार सन्तोष पटेल र कृष्ण यादव रहेका छन्।

सहमतिको पहिलो बुँदामा महासंघ पर्सा शाखाको कार्यसमितिले एक महिनाभित्र कार्यदल गठन गरी सदस्यता शुद्धीकरण तथा अभिलेखीकरणको प्रक्रिया अघि बढाउने उल्लेख छ। कार्यदलले सदस्यता सम्बन्धी आवश्यक कागजात तथा अभिलेख अध्ययन गरी तोकिएको प्रक्रियाअनुसार शुद्धीकरणको काम अघि बढाउनेछ।

लामो समयदेखि सदस्यता शुद्धीकरण तथा अभिलेखीकरणको माग उठाउँदै आएको संघर्ष समितिले सहमति कार्यान्वयन हुने प्रतिबद्धतापछि तालाबन्दी खोल्ने निर्णय गरेको जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close