
वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित बजरंग टोलमा मुख्य सडकमै ठूला मालवाहक सवारीसाधन रोकिन थालेपछि सडक आवागमन प्रभावित भएको भन्दै स्थानीयले चासो व्यक्त गरेका छन्।
एयसटी प्रालिमा सामान लोड तथा अनलोड गर्न आउने ट्रक तथा अन्य ठूला सवारीसाधन सडक किनारमै लामो समयसम्म रोकिँदा सवारी आवागमनमा अवरोध हुने गरेको स्थानीयको भनाइ छ। व्यस्त सडकमा भारी सवारीसाधन रोकिने क्रम बढेपछि दुर्घटनाको जोखिमसमेत बढेको उनीहरूले बताएका छन्।
स्थानीयका अनुसार कम्पनीमा सामान ओसारपसारका लागि आउने ट्रकलाई व्यवस्थित पार्किङको व्यवस्था नहुँदा मुख्य सडक नै पार्किङस्थलजस्तो बन्ने गरेको छ। यसले सडकमा सवारीको चाप बढाउनुका साथै पैदलयात्रीलाई समेत आवागमनमा कठिनाइ हुने गरेको उनीहरूको गुनासो छ।
स्थानीयले समस्या समाधानका लागि पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि स्थायी समाधान हुन नसकेको बताएका छन्। लामो समयसम्म सडकमा भारी सवारीसाधन रोकिँदा सडक संरचनामा समेत असर पर्ने उनीहरूको भनाइ छ।
पर्सा ट्राफिक प्रहरीले भने मुख्य सडकमा जथाभावी सवारी पार्किङ गर्न नपाइने स्पष्ट पारेको छ। सडकमा अव्यवस्थित रूपमा सवारी पार्किङ गरेको भेटिए ट्राफिक नियमअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।
यसैबीच, एयसटी प्रालिका सुमित अग्रवालले मुख्य सडकमा सवारीसाधन पार्किङ नगर्ने प्रतिबद्धता जनाएको स्थानीयले बताएका छन्। तर प्रतिबद्धता जनाएपछि पनि पुनः सोही स्थानमा ट्रक रोकिएको स्थानीयको दाबी छ।
स्थानीयले उद्योग तथा व्यवसाय सञ्चालनसँगै सडक सुरक्षा र सर्वसाधारणको सहज आवागमनलाई समेत प्राथमिकतामा राख्न आग्रह गरेका छन्। उनीहरूले मुख्य सडकमा हुने भारी सवारी पार्किङ तत्काल व्यवस्थित गरी पैदलयात्री तथा सवारीसाधनको सहज आवागमन सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।




