जिराभवानी गाउँपालिकाको अध्यक्षमा सरोज चौरसियाको चर्चा, युवा नेतृत्वको सम्भावनाले बढायो राजनीतिक चासो

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिकामा आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका युवा नेता सरोज चौरसियाको नाम गाउँपालिका अध्यक्षको सम्भावित उम्मेदवारका रूपमा चर्चामा आउन थालेको छ। विद्यार्थी राजनीतिदेखि सामाजिक सेवा र लोकतान्त्रिक आन्दोलनसम्म सक्रिय रहँदै आएका चौरसियाको सम्भावित उम्मेदवारीले गाउँपालिकाको राजनीतिक वृत्तमा नयाँ चासो थपेको छ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीतिक यात्रा सुरु गरेका चौरसिया लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिसँगै विभिन्न सामाजिक गतिविधिमा संलग्न रहँदै आएका छन्। राजनीतिक सक्रियतासँगै सामाजिक अभियन्ताका रूपमा समेत परिचित चौरसियाले समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न अभियान सञ्चालन गर्दै आएको बताइन्छ। उनको अगुवाइमा पर्साका विभिन्न पालिकामा दिसामुक्त अभियानसमेत सञ्चालन भएका थिए।

कोभिड–१९ महामारीका बेला लकडाउनका कारण दैनिक गुजारा चलाउन कठिनाइ भोगिरहेका सर्वसाधारण, श्रमिक तथा विपन्न परिवारलाई लक्षित गर्दै चौरसियाले एक महिनासम्म निःशुल्क भोजनको व्यवस्था गरेका थिए। संकटको समयमा प्रभावित समुदायलाई राहत पुर्‍याउने उनको उक्त पहललाई सामाजिक सेवाप्रतिको प्रतिबद्धताका रूपमा हेरिएको छ।

जिराभवानी गाउँपालिकामा लामो समयदेखि सामाजिक गतिविधि र जनसेवामा सक्रिय रहँदै आएका चौरसियाप्रति स्थानीयस्तरमा चासो बढ्दै गएको उनका समर्थकहरूको दाबी छ। उनीहरूले वर्षौंदेखि निःस्वार्थ रूपमा जनताको सेवामा सक्रिय रहँदै आएका चौरसियालाई आगामी निर्वाचनमा गाउँपालिकाको नेतृत्वमा देख्न चाहेको बताएका छन्। स्थानीय आवश्यकता, जनताको अपेक्षा र विकासका सवाललाई प्राथमिकतामा राखेर काम गर्न सक्ने युवा नेतृत्वका रूपमा उनलाई अघि सार्नुपर्ने उनीहरूको धारणा छ।

यसैबीच, नेपाली कांग्रेसभित्र युवा नेतृत्व र नयाँ पुस्ताको सहभागिताको विषयले पनि चर्चा पाइरहेको छ। पार्टी सभापति गगन थापाले युवालाई प्राथमिकता दिने धारणा राख्दै आएका सन्दर्भमा चौरसियाजस्ता युवा नेताको सम्भावित उम्मेदवारीलाई कांग्रेसभित्र पुस्तान्तरण र नेतृत्व विकासको बहससँग जोडेर हेरिएको छ।

चौरसियाको नाम अध्यक्ष पदको सम्भावित उम्मेदवारका रूपमा चर्चामा आउनुले जिराभवानी गाउँपालिकाको आगामी निर्वाचनलाई लिएर राजनीतिक चासो बढाएको छ। सामाजिक सेवामा सक्रियता, स्थानीयस्तरमा बनाएको सम्बन्ध र लामो राजनीतिक अनुभवलाई उनका समर्थकहरूले नेतृत्वका लागि आधारका रूपमा प्रस्तुत गरिरहेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close