
रेबिज दिवस २०२६ को अवसरमा रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित मुनलाइट एकेडेमीमा रेबिज रोगसम्बन्धी जनचेतनामूलक स्कुल शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ।
चन्द्रपुर नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा पशु सेवा शाखा प्रमुख डा. रिता थापाले विद्यार्थीहरूलाई रेबिज रोगको जोखिम, संक्रमण हुने माध्यम, लक्षण, रोकथाम तथा बच्ने उपायबारे विस्तृत जानकारी गराउनुभएको थियो।
कार्यक्रममा उहाँले रेबिज रोग विशेषगरी संक्रमित कुकुर, बिरालोलगायतका जनावरको टोकाइ वा र्यालको सम्पर्कबाट मानिसमा सर्न सक्ने भएकाले यसप्रति सबै सचेत रहनुपर्ने बताउनुभयो। उहाँले कुनै पनि जनावरले टोकेमा वा कोतरेमा घाउलाई साबुनपानीले कम्तीमा १५ मिनेटसम्म राम्ररी धुनुपर्ने र तत्काल नजिकैको स्वास्थ्य संस्थामा पुगेर चिकित्सकको सल्लाहअनुसार रेबिजविरुद्धको खोप लगाउनुपर्ने विषयमा विद्यार्थीहरूलाई जानकारी दिनुभयो।
त्यस्तै, घरपालुवा कुकुर तथा बिरालोलाई नियमित रूपमा रेबिजविरुद्धको खोप लगाउने, छाडा जनावरबाट टाढा रहने र अपरिचित वा आक्रामक जनावरलाई जिस्क्याउने तथा अनावश्यक रूपमा छुनेजस्ता व्यवहार नगर्न पनि उहाँले आग्रह गर्नुभयो।
विद्यालयस्तरबाटै रेबिज रोगबारे सही जानकारी र सचेतना फैलाउन सके भविष्यमा यसबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रमले विद्यार्थीहरूमा रेबिज रोगसम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै आफू, आफ्नो परिवार र समुदायलाई यस रोगबाट सुरक्षित राख्न आवश्यक सावधानी अपनाउन प्रेरित गरेको छ।



