
वीरगञ्ज – हेटौंडामा अर्ग्यानिक स्वादका खाना र खाजाका परिकार पाइने माछ भात रेष्टुरेन्ट सञ्चालनमा आएको छ । हेटौंडा–१० स्थित बसपार्क नजिकै सर्लाहीका राजकुमार महतोले करिब २० लाख रुपैयाँ लगानीमा अग्र्यानिक परिकारसहितको रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।
सर्लाहीमा उत्पादित अग्र्यानिक माछा, आफ्नै खेतमा अग्र्यानिक रुपमा उत्पादित बासमती धानबाट चामल ल्याई माछा र भात खुवाउन सुरु गरिएको छ । स्वास्थ्य क्षेत्रमा क्रियाशील महतोले बजारमा विभिन्न विषादी हाली उत्पादन भएको खानेकुरा मात्र बिक्री भइरहेकाले ग्राहकको स्वास्थ्यलाई ख्याल गर्दै अग्र्यानिक खाना खुवाउन सुरु गरिएको बताए । पब्लिक हेल्थमा स्नातकोत्तर पास गरेका महतो हाल विश्व स्वास्थ्य संगठनको तर्फबाट बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा प्राविधिक सहयोगको लागि खटाएको छ । स्वास्थ्यसम्बन्धी नीति, नियम बनाउन तथा प्राविधिक सहयोग गर्न महतोले मन्त्रालयलाई सघाउनेछन् ।
रेष्टुरेन्टमा बिहान ६ बजेदेखि ९ बजेसम्म ढिकीमा कुटेको चिउरा, सखर, अचार र सखर हालेको कालो चिया उपलब्ध हुन्छ । बिहान ९ बजेदेखि १ बजेसम्म अग्र्यानिक बासमती धानको भात र पोखरीमा प्राकृतिक खानेकुरा खुवाएर पालिएका माछाको तरकारी र नौ थरीका अचार, सलाद राखेर खानाको डिस तयार गरिन्छ ।
२ बजेदेखि फ्राई गरेको माछा, उसिनेको चामलको भुजा, सलाद र अचार अनि जनकपुरको लस्सी खाजाको रुपमा राखिएको छ । त्यस्तै कोदोको रोटी पनि खाजाको रुपमा राखिएको छ । महताले होटलमा ४ जनालाई रोजगारीसमेत दिएका छन् । आफूले व्यवसाय मात्र नगरेको भन्दै उनले आम्दानीको १० प्रतिशत रकम सामाजिक सेवामा खर्चनेसमेत बताए । आफूले गरेको व्यापारको रेकर्ड दैनिक अनलाइनमा अपडेट गरिने र हरेक चार महिनामा हिसाब गरी नाफाको १० प्रतिशत रकम सामाजिक काममा लगाउने महतोले बताए ।



