
काठमाडौँ । विवेकशील नेपाली दलले निषेधाज्ञाका बेला होम डेलिभरी सेवा दिनेहरुलाई निरुत्साहित नगर्न सरकारलाई आग्रह गरेको छ।हालै होम डेलिभरी सेवा दिनेहरुलाई प्रहरीले गरेको धरपकडको पनि विवेकशील नेपाली दलले विरोध गरेको छ ।
सङ्क्रमणबाट जोगिन आवश्यक पर्ने सबैजसो मापदण्ड पूरा गर्दै महामारीमा सर्वसाधारणलाई सिर्जनशील तवरबाट सेवा सञ्चालन गरिरहेका र महामारीका बखत धेर-थोर रोजगारी सिर्जना गरिरहेका ईकमर्स तथा अनलाइन डेलिभरी सेवालाई निरुत्साहित गर्ने कार्य कुनै सरकारी निकायबाट हुन नहुने विवेकशील नेपाली दलले बताएको छ।
काठमाडौँका विभिन्न स्थानहरूबाट ईकमर्स तथा अनलाइन डेलिभरी सेवा उद्यमीहरू, डेलिभरी गर्ने व्यक्तिहरूलाई बिना पक्राउ पुर्जी पक्राउ गर्ने र सवारी साधन नियन्त्रण लिने कार्य गृह मन्त्रालय अन्तर्गतका निकायहरूको मौखिक आदेशमा नेपाल प्रहरीबाट भएको भन्ने खबर प्रति दलले ध्यानाकर्षण भएको जनाउँदै त्यसप्रति आपत्ति प्रकट गरेको छ।
दलको तर्फबाट उपाध्यक्ष अजिता राईले शनिबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘संक्रमणबाट जोगिन आवश्यक पर्ने सबैजसो मापदण्ड पूरा गर्दै महामारीमा सर्वसाधारणलाई सिर्जनशील तवरबाट सेवा सञ्चालन, र महामारीका बखत धेर–थोर रोजगारी सिर्जना गरिरहेका ई–कमर्स तथा अनलाइन डेलिभरी सेवालाई निरुत्साहित गर्ने कार्य कुनै सरकारी निकायबाट हुनु हुँदैन ।’
कोभिड–१९ को महामारीले नेपालको हरेक क्षेत्र आक्रान्त भइरहेको अवस्थामा ईकमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरूले निषेधाज्ञाको बेलामा डेलिभरी सेवा सुचारु गर्दै गरेकोमा उनीहरु धन्यवादका पात्र रहेको विवेकशीलले बताएको छ।
‘उहाँहरुको सेवाले घरबाट निस्कन नमिल्ने अवस्थामा पनि खाद्य तथा अन्य आवश्यक उपभोग्य सामानहरू डेलिभरी हुँदा आम नागरिकहरुलाई सहज बनाएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सङ्क्रमण कम गर्न, क्वारेन्टिनमा बसेका तथा आवश्यक सेवा प्रदान गरिरहेका तथा कामदारको अभाव लगायत विविध कारणले प्रभावकारी रूपमा सञ्चालन हुन नसकेका अन्य सेवा प्रदान गर्नेहरूलाई यस्ता सेवा प्रदायकहरू कति सहयोगी बन्न सक्छन्, त्यो आयामबाट छलफल गर्दै एउटा प्रभावकारी माध्यमको पहिचान गरी सुरुवात गर्नु अबको मार्ग हुन सक्दछ।




