
बीरगंज, १२ चैत । ईलाका प्रहरी कार्यालय, पोखरीया, पर्साले विशेष सूचनाको आधारमा नेपाल बाट भारत तर्फ बिक्री वितरण गर्न लागेको दुई वटा हाती सहित तीन जनालाई पक्राउ गरेको छ ।
आज शनिवार बिक्री वितरणको लागि हात्तीहरू नेपालबाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय, पर्सा मातहत रहेको ईलाका प्रहरी कार्यालय पोखरिया बाट खटी गएको प्रहरी टोलीले आज अपरान्ह १२:०० बजेको समयमा पर्साको पकहामैनपुर गाउँ पालिका वडा नं. ०५ पोखरिया टोल बाट चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. १८ जितपुर बस्ने माउते द्वय बिकवा महतोको छोरा अंदाजी वर्ष ६० को बुदिराम महतो र डमर बहादुर कुमालको छोरा अंदाजी वर्ष ४० को राजु कुमाल तथा बिक्री गर्ने पर्साको पकहामैनपुर गाउँ पालिका वडा नं. ०५ सबैठवा बस्ने अफताब आलम हुसेनको छोरा अंदाजी बर्ष ३५ को सफरोज आलम लाई दुई वटा हात्ती लैजाँदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई हात्ती तथा मानिसलाई आवश्यक कारवाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाइएको कार्य भइरहेको कुरा पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताएका छन् ।




