
त्यसरी छापा हानिरहेको खबर ४ बजेतिर भने प्रहरी वृत्त महाराजगञ्जको प्रहरीसम्म पुग्यो । सुरुमा त प्रहरीलाई पनि उनीहरू राजस्व विभागबाट खटिएका कर्मचारी नै हुन् कि भन्ने लाग्यो । उनीहरूको हुलिया सबै कर्मचारीसँग मिल्दोजुल्दो नै थियो ।
तर, टोली छापा हान्न आउँदा पनि राजस्व विभागले प्रहरीलाई किन सहयोगका लागि खबर गरेन ? महाराजगञ्ज प्रहरीलाई शंका लाग्यो । वृत्तका प्रमुख डीएसपी अंगुर जीसीले घटनाबारे काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहरालाई उक्त घटनाबारे जानकारी गराए ।
प्रहरीले गोंगबु क्षेत्रमा आन्तरिक राजस्व कार्यालय लाजिम्पाटले छापा हानिरहेको बारेसमेत जानकारी लियो । तर, राजस्व कार्यालयले भने आफूहरूको टोली कुनै क्षेत्रमा अनुगमन गर्न नगएको जवाफ प्रहरीलाई दियो ।
रकम उठाउन गएकाहरूको व्यवहारसमेत शंकास्पद थियो । राजस्व कार्यालयबाट कर्मचारी अनुगमनमा नगएको सूचना पाएपछि भने प्रहरीले आन्तरिक राजस्व कार्यालयकाे कर्मचारी हुँ भन्दै रकम उठाउँदै आएका आठ जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गर्यो ।

प्रहरीको अनुसन्धानबाट उनीहरू राजस्व विभागको नक्कली कर्मचारी बनेर रकम संकलनको धन्दामा लागेको खुलेको छ । उनीहरूले शुक्रबार ८४ हजार ७३० रुपैयाँ जरिवानाबराबरको रकमसमेत संकलन गरेका थिए ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहराका अनुसार उनीहरूले हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने भन्दै रकम संकलन गरेको खुलेको छ ।
प्रहरीले पक्राउ गरेका आठैजनाले राजस्व विभागको परिचयपत्रदेखि पोशाक र लेटरप्याडसमेत नक्कली बनाएको खुलेको छ ।
पक्राउ पर्नेमा नवलपरासी पूर्व हुप्सेकाट– ३ का बिनबहादुर बिक, पाँचथर फिदिम नगरपालिका–१ की सृजना भट्टराई, अछाम बान्निगढी गाउँपालिका– ६ का सागरजंग लुहार, सोही स्थानकी दुधकला बिक, सिन्धुपाल्चोक साँगगढी–३ की प्रमिशा तामाङ, नुवाकोट बेलकोटगढी–१ की अञ्जना तामाङ, कञ्चनपुर बेतकोट–९ का राजीव विष्ट र सोही स्थानका डेबिड धामी छन् ।
उनीहरूलाई काठमाडौं प्रहरीले आइतबार सार्वजनिक गरेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी बोहराका अनुसार राजस्व कार्यालयका सबै कागजातदेखि पोशाकसमेत नक्कली बनाउने कार्यमा कञ्चनपुर बेतकोटका डेविड धामी संलग्न रहेको खुलेको छ ।
बोहरा भन्छन्, ‘उनीहरूले केही दिनदेखि राजस्व कार्यालयको नक्कली परिचयपत्र बनाएर अनुगमनको नाममा रकम उठाएको देखिन्छ । हालसम्म उनीहरूले ५ लाख ८ हजार ६४० रुपैयाँ संकलन गरेको भेटिएको छ । थप अनुसन्धान गर्दैछौँ ।’
प्रहरीका अनुसार डेविड धामीकै योजनामा अन्य व्यक्तिलाई मासिक तलब दिने गरी कर्मचारी बनाएर रकम असुल्ने गरेको खुलेको छ । प्रहरीले उनीहरूको साथबाट आन्तरिक राजस्व कार्यालय लेखिएको ४९ ठेली रसिद, रोजगारी आवेदन फारम र परिचयपत्र बरामद गरेको छ । प्रहरीले उनीहरूमाथि ठगी र किर्ते कसुरमा अनुसन्धान थालेको छ । shilapatra




