
पर्साको जिराभवानी गाँउपालिकाको १२औँ गाउँसभा आइतबार सम्पन भएको छ । गाउँसभामा गाँउपालिकाकी उपाध्यक्ष रेखा चाैधरीले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रमसंगै ३४ करोड ८० लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिन् ।
जिराभवानी गाउँपालिका वडा नम्बर ३ जितपुरस्थित बरात भवनमा आयोजित गाँउसभामा कार्यक्रममा प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन प्रबर्द्धन र सामाजिक विकासका विषयलाई मुख्य प्राथमिकतामा राखिएकाे छ ।
नीति तथा कार्यक्रममा एक वडा एक माध्यमिक विद्यालय, हरेक जाती, धर्म तथा समुदायका बालबालिकाकाे शिक्षामा अनिवार्य पहुच, विद्यालयमा विद्यार्थीहरुको अनुपातमा शिक्षक दरबन्दी लगायत उल्लेख छ ।
नीति तथा कार्यक्रममा किसानलाई खेती गर्न सहज बनाइने, निशुल्क विद्युतिय सिँचाईकाे प्रबन्ध गाँउपालिकाले गर्ने कार्यक्रम पनि उल्लेख छ ।
सुक्दै गएका पानीको मुहान संरक्षण तथा संबर्धन गरिने, उन्नत पशुपालन, पशु बिमा, बाली बिमा, गोठ तथा भकाराे सुधार कार्यक्रम सञ्चालन गरिने उपाध्यक्ष चाैधरीले बताइन् । पालिकाका पाँचै वडाहरुमा नयाँ कृषि सडक निर्माण गरिने नीति पनि रहेकाे उनले बताइन्।
उनले सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने र थप एक वटा एम्बुलेन्स खरिद गरी सेवालाई प्रभाकारी बनाउने नीतिपनि रहेकाे जानकारी गराइन् । गाँउपालिकाबासीहरुलाई ब्लड बैंकबाट निःशुल्क रगत उपलब्ध गराउने सेवालाई निरन्तरता दिने अगामी नीति रहेकाे उनले बताइन् ।
गाँउपालिका अध्यक्ष अनाेज चाैधरीकाे अध्यक्षतामा आयाेजित गाँउसभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरी, वडाध्यक्षहरु, वडासदस्यहरु,कार्यपालिका सदस्यहरु, कर्मचारी लगायतकाे सहभागीता थियाे ।




