वीरगन्जकाे शिक्षा र कृषि क्षेत्रमा लगानी गर्न टर्की इच्छुक

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र टर्की सहयोग समन्वय एजेन्सीका दक्षिण एसिया प्रमुख दुर्सान अली यासकानबीच मंगलबार भेटवार्ता भएको छ ।

भेटमा महानगरका मेयर सिंहले आफूहरु वीरगन्जको शैक्षिक स्तर वृद्धि गर्न लागि परेको भन्दै त्यसका लागि आवश्यक सहयोग गर्न आग्रह गरे। नगरको सफाइमा आफूहरु सक्रिय भएर लागेको र परिणाम राम्रै देखिएको भन्दै उनले अब शिक्षा क्षेत्रको सुधारका लागि अघि बढेको बताए ।

शैक्षिक सामग्री, भौतिक संरचना तथा जनशक्ति अभावमा शैक्षिक क्षेत्र सुधारमा केही अवरोध देखिएको भन्दै मेयर सिंहले त्यसका लागि आवश्यक सहयोगको खाँचो रहेको बताए ।

मेयर सिंहकै कार्यकक्षमा भएको भेटमा समन्वय एजेन्सीका दक्षिण एसिया प्रमुख दुर्सान अली यासकानले वीरगन्जमा आफूहरु कृषि र शिक्षामा लगानी गर्न इच्छुक रहेको बताए ।उनले आफूहरु परिणाममुखी काम गर्न तयार रहेको भन्दै महानगरले कृषि र शिक्षामा आवश्यक प्रस्ताव पेश गरे यथाशक्य सहयोग गर्न तयार रहेको पनि बताए ।

यस अघि एजेन्सीले वीरगन्ज १४ बहुअरिमा पुनःनिर्माण गरेको सुफा आइडियल एकेडेमीको मेयर सिंहले उद्घाटन गरेका थिए । टर्की सहयोग समन्वय एजेन्सीले उक्त एकेडेमीलाई आवश्यक शैक्षिक सामग्री समेत हस्तान्तरण गरेको छ ।

मेयर सिंहसँग भेट गर्न टर्की सहयोग समन्वय एजेन्सीका दक्षिण एसिया प्रमुख अलीसहित दक्षिण एसिया डेस्क प्रमुख तारिक मेटे, ढाका संयोजक मर्ट बरिस र ओनुर ओजतुर्क आएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close