
वीरगंज, १४ माघ ।
यस वर्षको गोतामे पत्रकारिता पुरस्कार कास्की जिल्लाको पोखरा महानगरपालिका निवासी पुराना पत्रकार बद्री विनोद प्रतीक (खनाल)लाई प्रदान गर्ने निर्णय भएको छ । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानको शनिवार सम्पन्न बैठकले यस वर्षको पुरस्कार प्रतीकलाई प्रदान गर्ने निर्णय भएको सचिव हिमालचन्द्र गौतमले बताए ।
एक तोला सुनको तक्मा रहेको सो पुरस्कार पत्रकार गोपालचन्द्र गौतमको पुण्यतिथि फागुन २ गते प्रदान गरिने छ । प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । पुरस्कृत हुने पोखराका पत्रकार पाँच दशकदेखि नेपाली पत्रकारितामा सक्रिय रहँदै आएका छन् ।
पत्रकार प्रतीक २०३१ सालदेखि उनी अभियान साप्ताहिकबाट पत्रकारिता गर्दै आएको र अहिले पोखरा हटलाइनको प्रधान सम्पादक हुन् भने कास्की जिल्लाको विभिन्न क्याम्पसमा पत्रकारिता अध्यापन गराउँदै आएका छन् ।




