
राहुल गुप्ता
अहिले विदेशी शक्तिहरुको इशारा र निर्देशनमा अहिले नेपालको संविधानमाथि प्रहार भइरहेको संघीय सांसद डा.अमरेश सिंहले आरोप लगाएका छन।संविधानका मुख्य चारवटै आधारस्तम्भ धर्मनिरपेक्षा,गणतन्त्र,संघीयता र समावेशीतामाथि प्रहार भइरहेको उनले बताए। धर्मनिरपेक्षता माथि विदेशीहरुको इशारामा हिन्दूवादीबाट,गणतन्त्रमाथि पूर्वराजा र राजवादीबाट तथा संघीयता र समावेशीतामाथि यहिका दल र सरकारबाट प्रहार भइरहेको उनले बताए ।
आज पत्रकार सम्मेलन गर्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डमाथि द्वन्द्धकालका ३ सय भन्दा बढी मुद्धा रहेको बताउँदै यदि संविधान समाप्त भएमा प्रचण्ड जेल जाने ठोकुवा समेत गरेका छन ।
उनले प्रधानमन्त्री कार्यालय प्रधानमन्त्री प्रचण्डका आसेपासको पूर्ण कब्जामा रहेको आरोपपनि लगाए । उनले भने,‘पैसा उठाउन, गैर कानूनी काम गर्नका लागि प्रधानमन्त्री कार्यालयमा छोरी,बुहारी,भाई,भतिजाहरुलाई नियुक्ती गरेर राखिएको छ। योपनि एउटा अपराध नै हो।’
नेपालको राजनीतिमा अहिले परिवारिकरण, व्यपारीकरण र भ्रष्टीकरण हाबी भएको भन्दै उनले राजनीति सेवा भावका रुपमा नभई व्यपारका रुपमा फस्टाएको टिप्पणी गरे ।उनले नेपालमा विदेशी दलालीकरणपनि बढेको बताए ।
त्यस्तै उनले नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवालाई पढेलेखेको मान्छे मन नपर्ने बताए । उनले भने, ‘शेरबहादुर देउवालाई पढेलेखेको मान्छे मन पर्दैन ।’ देउवालाई इंगित गर्दै उनले थपे, ‘उहाँ भन्नुहुन्छ, एउटी मेरो श्रीमती पढेको छँदैछ, बाँकी किन चाहियो ।’ सिंहले भने, ‘उहाँ शेरबहादुर देउवा हैन, वास्तवमा शेरबहादुर राणा हो ।’




