
काठमाडौं । अमेरिका छिर्ने प्रलोभनमा अवैध बाटो हुँदै ब्राजिल पुगेर अलपत्र परेका १ सय ७६ जना नेपालीलाई हवाई कम्पनीले नै स्वदेश फिर्ता नल्याए नेपाल सरकारले फर्काउन पहल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले मानव तस्करहरुले अमेरिका पु¥याउने प्रलोभनमा ब्राजिल लगेर अलपत्र पारेका नेपालीको सुरक्षाका लागि सरकार गम्भीर रहेको बताउनुभयो । अहिलेसम्म उनीहरुको खान–बस्नको व्यवस्था ब्राजिल सरकारले नै गरिरहेको र आवश्यक परे नेपाली दूतावासमार्फत थप समन्वय गर्ने सरकारको तयारी रहेको राइले जनाउनु भयो ।
अवैध रुपमा अमेरिका छिर्ने लोभमा करिब दुई सय जना नेपाली ब्राजिल पुगेर अलपत्र परेका छन् । मानव तस्करको प्रलोभनमा लाखौं रकम बुझाएर अवैध बाटो हुँदै अमेरिका हिंडेका नेपालीसहित झन्डै सात सय आप्रवासी ब्राजिलको साओ पाउलो अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका हुन् ।दक्षिण अमेरिकी मुलुक ब्राजिल पुगेर शरणार्थी बन्ने र त्यहाँबाट विभिन्न देश हुँदै अमेरिका छिर्ने लक्ष्यसहित हिँडेका नेपालीहरु करिब एक सय जना रहेको ब्राजिलस्थित नेपाली दूतावासले जनाएको छ ।
ब्राजिलले आफ्नो भूमिलाई ट्रान्जिट बनाएर शरण लिन खोज्नेहरुलाई प्रवेश अनुमति नदिएपछि करिब एक सय नेपालीसमेतलाई त्यहाँको सरकारको नियन्त्रणमा लिएर बन्दी बनाएको हो । लाखौं रकम असुलेर मानव तस्करहरुले ब्राजिल लगायतका देशमा पुर्याएर शरणार्थी बनाउने र त्यहाँबाट कोलम्बिया,पनामा, पेरु, ग्वाटेमाला हुँदै मेक्सिको जाने अनि अमेरिका छिराउने प्रयास गर्छन् ।अमेरिकाको सपना देखाएर नेपालीलाई फसाउने मानव तस्करीका संगठित समूह नै सक्रिय भएको प्रहरी अनुसन्धानले नै देखाइरहेको छ । १ सय ७६ जना नेपाली ब्राजिलमा अलपत्र परेको घटना त्यसैको पछिल्लो शृंखला हो ।
तर वैधानिकभन्दा पनि मानव तस्करीका संगठित गिरोहको प्रलोभनमा परेर अमेरिका जाने सपना बोकेर उड्नेहरु समस्यामा पर्ने गरेका छन् । यस्तोमा अवैधबाटोबाट अमेरिका पुग्न चाहनेहरु पनि छन् । कति अनेक दुःख र हन्डर भोगेर अमेरिका पुग्छन् भने कतिले बाटोमै ज्यान गुमाउछन् ।
अवैध बाटोबाट अमेरिका पुग्ने क्रममा विदेशका जेलमा कति छन् कति । उनीहरुको उद्धारका लागि दूतावासमार्फत पहल पनि भइरहेको छ । तर एकै पटकमा झन्डै दुई सय नागरिकलाई त्यहाँ पु¥याउने गिरोहको खोजीतर्फ भने अनुसन्धान सुरु नै भएको छैन । ब्राजिलस्थित नेपाली दूतावासले विगतको जस्तै मानव तस्करले अमेरिका पठाउने नाममा नेपालीहरु त्यहाँ पु¥याउने गरेको जनाएको छ । हवाई रुटबाट लैजाने गिरोहले पहिला दुबई अथवा थाइल्यान्ड पु¥याउँछन् भने सडकमार्गबाट लैजानेहरुले भारतको बाटो रोज्ने गरेका छन् ।नेपालबाट बसमार्फत भारत, रुस, स्पेन हुँदै बोलिभिया पु¥याइन्छ । बोलिभियाबाट बसमा पेरु, इक्वेडर हुँदै कोलम्बिया पु¥याएपछि अझ कष्टकर यात्रा सुरु हुन्छ ।
कोलम्बियाबाट हिंडाएरै अथवा बसमा पानामा पु¥याइन्छ जहाँ खतरनाक डेरियन जंगल पार गर्नुपर्ने हुन्छ । त्यसपछि कोष्टारिका, निकारागुवा, होण्डुरस, ग्वाटेमाला हुँदै मेक्सिको पुग्दासम्म ६ महिना बितिसकेको हुन्छ । पछिल्लो समयमा सरकारले दुबईमा जान कडाइ गरेपछि गिरोहले नेपालीलाई भारतको मुम्बईलाई ट्रान्जिट बनाएर फ्रान्स हुँदै कोलम्बियाको बाटो पानामामा लाने र त्यहाँबाट क्यारेबियन सागरमा डुंगामार्फत् अमेरिका पुर्याउने गरेको छ । विनाभिसा पानामाबाट अमेरिका छिर्ने क्रममा जंगल, समुन्द्र र बाटोमा धेरै नेपालीले मृत्युबरण गर्ने गरेका छन् ।
केहीले ग्वाटेमालाबाट मेक्सिको पु¥याउँछन् भने केहीले ब्राजिलको रुट प्रयोग गर्ने गरेका छन् । अमेरिकासँग सीमा जोडिएको मेक्सिकोको पर्खालमा लगेर छोडिदिने मानव तस्करको रुट र शैली हो । यति गर्दासम्म जानेहरुले तस्करलाई ५५ लाखदेखि १ करोड २० लाखसम्म बुझाइसकेका हुन्छन् । महिनौं दिनसम्मको कष्टकर यात्रापछि अमेरिका छिरेकाहरु पनि पक्राउ परेर नेपाल फिर्ता गरिएका छन् । मानव तस्करीका नाममा अमेरिका पठाउनेमध्ये नेपाली मुख्य एजेन्ट हस्त गौतमसहित चार जनालाई गत वर्ष पक्राउ गरेको छ । शारीरिक अपांगता भएका गौतमले मात्रै सयौं व्यक्तिलाई अमेरिका पठाउने नाममा ठगी गरेको प्रहरी अनुसन्धानबाटै खुलेको छ । गिरोहका ११ जना पक्राउ परेका छन भने १८ अझै फरार छन ।
करिब ८ महिनाअघि मानवतस्करीमा प्रयोग भएको भारतीय यात्रुबाहक विमान ४ दिन फ्रान्स बसेर भारत नै फर्किएपछि नेपालमा समेत हलचल मच्चिएको थियो । मानव तस्करीको आशंकामा दुबईको फुजिरा विमानस्थलबाट २ सय ७६ यात्रु लिएर फ्रान्स पुगेको चार्टर विमान भारतको मुम्बई एयरपोर्ट अवतरण गरेपछि हलचल मच्चिएको हो ।करिब ८ महिनाअघि जर्मनको फ्र्यांकफर्टबाट मेक्सिको हुँदै २ वटा चार्टर विमान निकारागुआमा अवतरण भएका थिए । ती दुबै विमानमा अमेरिका जाने नेपाली यात्रु रहेका थिए । चार्टर एयरबस ए ३४० यूएईबाट निकारागुआका लागि उडान भर्ने तयारीमा रहेको बिमान मुम्बई फर्काइएको थियो । गिरोहले दिल्ली, हैदारावाद, कलकत्ता, मुम्बई लगायतका भारतका बिभिन्न सहरमा अमेरिका पठाउने नेपालीलाई राखेका छन् ।




