
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले आफ्नो मुद्दा शाखामा कार्यरत् एक जना सहायक हबल्दारलाई नियन्त्रणमा लिएको छ ।काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले सहायक हबल्दार गणेश खड्कालाई नियन्त्रणमा लिएर आन्तरिक छानबिन भइरहेको पुष्टि गरे ।
उनका अनुसार, मुद्दा मिलाइदिन्छु भनेर ठगी गरेको भन्दै केही व्यक्तिविरुद्ध जाहेरी परेको थियो । ती व्यक्तिहरुसँग खड्काको सम्बन्ध भएको आशंकामा नियन्त्रणमा लिएर छानबिन थालिएको हो ।यस विषयमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीको नेतृत्वमा डीएसपी प्रल्हाद कार्कीसहित ४ जना सदस्य रहेको समिति समेत गठन भएको बताइएको छ ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरी स्रोतका अनुसार, एक जना व्यक्तिलाई खड्काले क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा सोधपुछका लागि बोलाएका थिए । तर, संलग्नता देखिएको भन्दै उनलाई छाडिएको थियो ।पछि यो मामलामा आन्तरिक लेनदेन भएको भन्दै सम्बन्धित व्यक्तिको परिवारले जाहेरी दिएको थियो ।छानबिन समितिका संयोजक एसपी अधिकारीले भने आफूले भर्खरै पत्र बुझेकाले विस्तृतमा बुझ्न नपाएको बताए । उनले भने, ‘छानबिनपछि मात्रै मैले यसबारे बताउन सक्छु ।’




