
ठोरीका किसान अरुण अधिकारीलाई मधेस प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशकै उत्कृष्ट तरकारी किसानका रुपमा सम्मानित गरेको छ ।
४४औ विश्व खाद्य सुरक्षा दिवसको अवसरमा सोमबार मधेश प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयले आयोजना गरेको कार्यक्रममा ठोरीका किसान अधिकारीलाई सम्मानित गरिएको हो । कार्यक्रममा मधेस प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले ठोरी गाँउपालिका वडा नम्बर ३ ओडारका अधिकारीलाई नगद २५ हजार रुपैयाँको पुरस्कार प्रदान गर्नुका साथै दोशल्ला ओढाएर सम्मानित गरे ।
उक्त कार्यक्रममा मधेस प्रदेशका आठ वटै जिल्लाबाट एक एक जना किसानलाई सम्मानित गरिएको मन्त्री क्षेत्रीले जानकारी दिए । पर्साबाट तरकारी खेतीमा व्यवसायिक रुपमा लागेका अधिकारीलाई सम्मानित गरिएको उनले बताए।




