
अभिलाष गुप्ता
बिरगंज १४ मंसिर सशस्त्र प्रहरी बल पर्साले २३ लाख ५१ हजार ९४८ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ। मिति २०८१ मंसिर १३ गते सशस्त्र प्रहरी बल, प्रभाग संख्या १६, वीरगञ्ज भन्सार मेनगेट र विभिन्न स्थानमा खटिएको टोलीले भारतबाट भन्सार छलि ल्याउँदै गरेको अवैध सामान नियन्त्रणमा लिएको हो।
टोलीले ना २ ह ७७२५ नम्बरको अटो, म.प्र.०३-०२८प ७२८६ नम्बरको मोटरसाइकल तथा अन्य सार्वजनिक सवारीसाधनमार्फत ल्याइँदै गरेको करिब १९ लाख ३१ हजार ९४८ रुपैयाँ मूल्य बराबरका किराना सामान, मोटर पार्ट्स, कम्प्युटर पार्ट्स, कपडा, कस्मेटिक सामग्री तथा सामान्य औषधि बरामद गरेको हो।
बरामद सामानसहित अटोको भन्सार मूल्य ३ लाख रुपैयाँ र मोटरसाइकलको भन्सार मूल्य १ लाख २० हजार रुपैयाँ गरी कुल २३ लाख ५१ हजार ९४८ रुपैयाँ बराबरको सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णु हरि घिमिरेले जानकारी दिनुभयो।




