वीरगंजको मुख्य सडक फराकिलो हुने विषयमा फैसला आएन, सरकारसँग सडकको विवरण माग्ने सर्वाेच्चको आदेश

वीरगंजको मुख्य सडक फराकिलो हुने विषयमा फैसला आएन, सरकारसँग सडकको विवरण माग्ने सर्वाेच्चको आदेश

वीरगंजको मुख्य सडक फराकिलो गर्ने विषयको मुद्दा फेरि पनि लम्बिएको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले मङ्गलवार यो मुद्दामा सडकको पछिल्लो अवस्थाका बारेमा प्रगति विवरण नेपाल सरकारसँग माग्ने आदेश गरेको छ । यस अघि तत्कालीन मन्त्रिपरिषद्ले रक्सौल–पथलैयासँगै श्रीसिया सुक्खा बन्दरगाह–पथलैया सडकखण्डलाई त्रिभुवन राजपथ घोषित गरेको भन्दै मन्त्रिपरिषद्को निर्णयको प्रतिलिपि पेश गरेपछि सोही प्रमाणको आधारमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चूडाल र तिलप्रसाद श्रेष्ठको संयुुक्त इजलासले मन्त्रिपरिषद्को निर्णय झिकाउने आदेश गरेको थियो ।

तत्कालीन मन्त्री विमलेन्द्र निधिले श्रीसिया सुक्खा बन्दरगाह–पथलैया सडकखण्डलाई त्रिभुवन राजपथ घोषणा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेकामा स्वीकृति भएको तर सो राजपत्रमा भने प्रकाशित हुन सकेको थिएन ।

व्यापारिक मार्ग विस्तार आयोजना कार्यालय, पथलैयाले पाँच वर्ष अघि गण्डकदेखि मितेरी पुलसम्मको मुख्य सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ २५/२५ मिटर सडकको क्षेत्रफलभित्र बनेका संरचना हटाउन सूचना जारी गरेपछि २०७५ मङ्सिर २१ गते, २०७६ असोज ७ गते, २०७६ कात्तिक १७ गते तथा २०७६ पुस १९ गते दायर गरेको रिटसहितको मुद्दामा आज पेसी चढेको र सुनवाइपछि सडकको पछिल्लो अवस्थाका बारेमा प्रगति विवरण नेपाल सरकारसँग माग्ने आदेश भएको छ ।

व्यापारिक मार्ग विस्तार आयोजना कार्यालय पथलैयाले सुक्खा बन्दरगाहदेखि परवानीपुर चोकसम्म चार लेन र सो चोकदेखि पथलैयासम्म ६ लेनको सडक निर्माण कार्य सम्पन्न गरिसकेको छ । यसैगरी, परवानीपुरदेखि गण्डकसम्म चार लेनको सडक निर्माण पनि सम्पन्न भइसकेको छ । तर गण्डकदेखि मितेरीपुलसम्मको करीब १० किलोमिटर सडक भने अहिलेसम्म अदालतमा विचाराधीन मुद्दाका कारण अगाडि बढ्न सकेको छैन । गण्डकदेखि मितेरीपुलसम्म करीब ११ सय घरधुरी छन् ।

पछिल्लोपटक महानगरपालिकाले यो सडकखण्डमा रहेका घरहरूको नक्शापास प्रमाण माग गर्दा डेढ सयजनाले मात्र पेश गरेका थिए । पेश गरिएका नक्शाहरूमा सडक विभागले सडक विस्तार गर्दा २५/२५ मिटर दायाँबायाँमा घर बनाएकाहरूले सडकलाई जग्गा खाली गर्ने शर्त मानेर नक्शापास गरेको देखिएको छ । #eprateekdaily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close