
वीरगन्ज–१६ भन्सार क्षेत्रमा बुधबार बजार अनुगमन टोली पुग्दा त्यहाँ रहेका सेकुवा र मदीराका होटल तथा किराना पसलेहरु पसल नै बन्द गरेर भागाभाग भएका छन् ।
बुधबार दिउँसो जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधी मन्दिप यादव नेतृत्वको बजार अनुगमन टोली अनुगमनका लागि पुगे लगत्तै सेकुवा र मदीराका होटल तथा किराना पसलेहरु धमाधाम पसलको सटर झारेर हिडेका हुन् ।
आँफुहरु दिउँसो २ बजेर ३० मिनेटमा भन्सार क्षेत्रमा बजार अनुगनमका लागि पुग्दा त्यस क्षेत्रमा रहेका करिब दुई दजर्न होटल र पसलका व्यपारीहरु सटर झारेर भागाभाग भएको अनुगमन टोलीमा सहभागी उपभोक्ता हित संरक्षण मञ्च पर्साका उपाध्यक्ष अजित भुजेलले बताए ।
उनले भने,‘अनुगमन टोली भन्सार क्षेत्रमा पुगेर गाडीबाट झर्न नपाउँदै व्यपारीहरु सरामान बाहिरै छाडेर सटर बन्द गरेर हिडे । एकछिन त त्यहाँ पसलेहरुको भागाभाग नै भयो ।’
वीरगन्ज भन्सार क्षेत्रमा रहेका सेकुवा र मदिराका होटल तथा किराना पसलहरुमा सरफाईको अवस्था, नेपाल सरकारबाट व्यवसायका लागि लिएको इजाजतपत्र लगायतका बारेमा अनुगमन गर्न गएको उनले मधेसखबरलाई बताए ।तर पसलेहरु सटर नै बन्द गरेर भागेपछि ती होटल र पसलहरुमा अनुगमन गर्न नसकिएको उनले बताए ।
पछि केहि पसलेहरुलाई बोलाएर बजार अनुगमन टोलीलाई असहयोग नगर्न आग्रह गर्दै होटलमा सरसफाईको अवस्था चुस्त राख्न, व्यवसाय दर्ता नगरेको भए दर्ता गर्न र दर्ता गरिएका ईजाजतपत्र नविकरण गराउन आग्रह गरिएको भुजेलले मधेसखबरलाई जानकारी दिए ।
त्यसक्रममा दुई वटा होटल र दुई वटा किराना पसलमा भने अनुगमन गरिएको जानकारी दिदैं उनले अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका बेसन,सेवई, सन्पापडी,बिस्कुट लगायतका सामान जफत गरेर नष्ट गरिएको भुजेलले बताए ।
अनुगमन टोलीमा वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालयका कविकान्त कुशवाहा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगन्जका निमित्त अधिकृत जगत चौधरी,होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका उपाध्यक्ष रचेन्द्र थापा,उपभोक्ता हित संरक्षण मञ्च पर्साका उपाध्यक्ष अजित भुजेल,वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी सहायक निरीक्षक रामविश्वास पटेलपनि सहभागी थिए ।




