
राहुल गुप्ता
वीरगञ्ज महानगर क्षेत्रमा लामखुट्टेको आतंक दिनानुदिन बढ्दै गएको छ। विशेष गरी बस्ती तथा खुला नाला आसपासका क्षेत्रहरूमा लामखुट्टेको बढ्दो संख्याले डेंगु, चिकुनगुनिया, मलेरिया लगायतका रोगको जोखिम बढाएको छ।
नाला तथा फोहोरमैला यथावत रहेका बेला महानगरपालिका भने सरसफाइ र नियन्त्रण अभियानको साटो स्ट्यान्डबाजी र प्रचारप्रसारमा व्यस्त देखिएको छ। मेयरदेखि कर्मचारीसम्म फोटो खिचाउने र सामाजिक सञ्जालमा पोस्ट गर्ने काममै सीमित भएको नागरिकहरूको गुनासो छ।
स्थानीय बासिन्दाहरूले समस्या समाधानको माग गर्दै सक्रिय कदम चाल्न आग्रह गरेका छन्। “हामी रोगसंग लडिरहेका छौं, महानगर फोटोसंग,” स्थानीयवासी रमेश साहले भने। लामखुट्टे नियन्त्रणका लागि प्रभावकारी औषधि छर्कने, ढल सफा गर्ने, तथा जनचेतना अभिवृद्धि गर्ने उपायहरू तत्काल सुरु गर्नुपर्ने उनीहरू बताउँछन्।
महानगरको ध्यान प्रचारभन्दा बढी व्यवहारिक काममा जानु आवश्यक रहेको भन्दै स्थानीयहरूले सुझाव दिएका छन।




