वीरगंजको मुख्य नालाको अतिक्रमण हटाउन ढिलाइ

वीरगंजको मुख्य नालाको अतिक्रमण हटाउन ढिलाइ

वर्षात्को मौसम शुरू हुन लागेको छ । वीरगंजमा डुबानको जोखिम उत्तिकै छ । तर लामो समयदेखि मुख्य नाला अतिक्रमणमुक्त गर्ने काममा ढिलाइ भइरहेको जनगुनासो आइरहेका छन् ।

आदर्शनगर ग्रीनसिटी प्रहरी बिटदेखि हरि खेतान बहुमुखी क्याम्पसको मूल गेटसम्म पुरानो नालाको दायाँ–बायाँ अतिक्रमणमुक्त नहुँदा वीरगंजको मुख्य नाला थुनिएर वीरगंज डुबानको चपेटामा पर्ने गरेको छ ।

गीता मन्दिरदेखि प्रहरी बिटसम्म यस अघि वीरगंज महानगरको सरसफाइ टोलीले नाला अतिक्रमणमुक्त र सफा गरिसकेको छ । राष्ट्रिय वाणिज्य बैंक, आदर्शनगरको पछाडिसम्म पनि नालाको जग्गा अतिक्रमणमुक्त भइसकेको छ । तर सोभन्दा दक्षिणतर्फ केडिया घरानाको जग्गा र खेतान घरानाको वर्चस्व रहेको हरि खेतान क्याम्पसले लुकाएर राखेको वास्तविक नालाको बहाव खुल्न नसक्दा पुरानो नालाबाट पानी बग्न नसकेको हो ।

यस अघि केडिया र हरि खेतानको पर्खालमा महानगरको टोलीले नापजाँच गरी पर्खालमा चिनो लगाइसकेको छ । तर पनि सम्बन्धित अतिक्रमणकारीहरूले जग्गा खाली नगर्दा ढिलाइ भइरहेको महानगरका कर्मचारीहरू बताउँछन् । कुनै पनि हालतमा नालाको अतिक्रमण खाली गराएर नै छाड्ने महानगरको टोलीले जनाएको छ ।

यसै विषयमा ग्रीनसिटीका अध्यक्ष जयप्रकाश खेतानले एक साताभित्रै मुख्य नाला अतिक्रमणमुक्त भई सरसफाइसमेत हुने बताए । उनले जिल्ला हुलाक कार्यालयबाट शुरू भएको नाला रेलवे मावि, जिल्ला प्रशासन कार्यालय, गीता मन्दिर, चिल्ड्रेन पार्क हँुदै रक्सौलनजीकै श्रीसिया नदीमा मिसिने गरेको छ ।

वीरगंजको मुख्य शहरी क्षेत्रका सहायक नाला पनि सोही नालामा जोडिएकाले उक्त नाला अतिक्रमणमुक्त र चालू राख्नुपर्ने बाध्यता छ । अध्यक्ष खेतानले हरि खेतान र केडिया परिवारले आआफ्नो जग्गामा पर्खाल उठाउने र मर्मतको कार्य गरिरहेकाले सो कार्य हुने बित्तिकै सरकारी जग्गा अतिक्रमणमुक्त गर्न सहमत भएकोसमेत जानकारी गराए । #eprateekdaily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close