मुख्यमन्त्री र मन्त्रीको संरक्षणमा कलैया यातायात कार्यालयमा नांगो भ्रष्टाचार, अख्तियारले डामेका अधिकृतले खुलेआम घुस असुल्दै

मुख्यमन्त्री र मन्त्रीको संरक्षणमा कलैया यातायात कार्यालयमा नांगो भ्रष्टाचार, अख्तियारले डामेका अधिकृतले खुलेआम घुस असुल्दै

मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायको संरक्षणमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेका अविन्दर दासलाई बारा, कलैयास्थित यातायात व्यवस्था कार्यालयको प्रमुखमा नियुक्त गरिएपछि त्यहाँ खुलमखुला भ्रष्टाचार मौलाएको छ।

विशेष अदालतबाट मुद्दा जितेर प्रमोट भएका दास हाल लाइसेन्स वितरणमा सेटिङ र घुसको दररेट तोकेर अवैध कमाइमा रमाइरहेका छन्। सेवाग्राहीहरू कानुनी प्रक्रिया पुरा गरेर लाइसेन्स लिन संघर्ष गरिरहेका छन् भने आर्थिक चलखेल गर्न सक्नेले सजिलै अनुमतिपत्र हात पारिरहेका छन्।

दासले यातायात कार्यालयमा खुलेआम दलाल परिचालन गरी ट्रायल र लिखित परीक्षामा फेल भएका उम्मेदवारलाई समेत दररेट अनुसार पास गराइदिने गरेको खुलेको छ। स्कुटर, मोटरसाइकलदेखि ट्रक र बससम्मको लाइसेन्सका लागि १० हजारदेखि ६० हजार रुपैयाँसम्म घुस लिने गरिएको स्रोत बताउँछ।

स्रोतका अनुसार दास र सत्यनारायण साह मिलेर लाइसेन्स सेटिङको सम्पूर्ण खेल सञ्चालन गरिरहेका छन्। दलालमार्फत् नजाने सेवाग्राहीलाई ट्रायल वा लिखित पास गर्न नदिने प्रवृत्ति हावी भएको छ।

अविन्दर दासको विवादित इतिहास कुनै नयाँ कुरा होइन। उनी बीरगंज, पर्सा र गौर यातायात कार्यालयहरूमा समेत सेटिङमार्फत अकूत सम्पत्ति कमाएको आरोप भोगिसकेका छन्। बीरगंजको श्रीपुरमा फ्याक्ट्री सञ्चालनदेखि थुप्रै घरघडेरी जोडिएको स्रोतको दाबी छ।

२०७५ सालमा अख्तियारले दाससहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेष अदालतबाट सेटिङ गरी दोषमुक्त भएपछि उनी अझ बलियो भएर भ्रष्टाचारमा सक्रिय बनेका छन्।

कलैयामा सरुवा भएसँगै दासले भ्रष्टाचारको दरबार सजाएका छन् भने मुख्यमन्त्री सतिश सिंह र मन्त्री कौशलकिशोर रायको राजनीतिक संरक्षणले उनलाई झन उन्मुक्ति दिएको देखिन्छ। सेवाग्राहीहरू भने अन्याय र अपारदर्शिताबाट मर्कामा परेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close