
वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा “बैभव वीरगञ्ज”को नारा दिए पनि ऐतिहासिक, सांस्कृतिक र खेलकुदको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने नारायणी रंगशालाको विषयमा कुनै उल्लेख नगरिएकोप्रति जनस्तरमा गम्भीर प्रश्न उठ्न थालेको छ।
नगर प्रमुख राजेशमान सिंहले चुनावदेखि नै विभिन्न सार्वजनिक मञ्चहरूमा नारायणी रंगशालालाई पुनःजीवित बनाउने प्रतिबद्धता व्यक्त गर्दै आएका थिए। तर, यस वर्ष प्रस्तुत बजेटीय दस्तावेजमा नारायणी रंगशालासम्बन्धी कुनै योजना, कार्यक्रम वा लगानी प्रस्ताव नआउनुले नगर नेतृत्वको दुइधारे चरित्र प्रकट भएको भन्दै आलोचना शुरु भएको छ।
स्थानीय खेलप्रेमी, युवाहरू र नागरिक अभियन्ताहरूले नारायणी रंगशालालाई वीरगञ्जको गौरवको प्रतीकको रूपमा लिँदै आएका छन्। वीरगञ्जको मध्यभागमा अवस्थित यो रंगशाला लामो समयदेखि उपेक्षित छ। आवश्यक संरक्षण र पूर्वाधार विकास नहुँदा खेलकुद गतिविधिहरू शून्यप्रायः बनेका छन्।
यसैबीच, नगरपालिकाको नीति तथा कार्यक्रममा अलौ पर्व संग्रहालय, रेल्वे म्युजियम, बिपी उद्यान, नमुना अस्पताल र स्मार्ट शिक्षा लगायतका योजनाहरू समावेश गरिए पनि नारायणी रंगशालाको अनुपस्थितिलाई धेरैले “चुनावी गफ” मात्र हो कि भन्ने प्रश्न उठाएका छन्।
स्थानीय युवा अभियानकर्मी नवल साह भन्छन्, “रंगशालाको विषय चुनावमा उठाउने, तर बजेटमा नसमेट्ने? यस्तो व्यवहारले नेतृत्वको नियतमाथि प्रश्न उठाउँछ।”
विश्लेषकहरू भन्छन्, यदि “बैभव वीरगञ्ज”को सपना साँच्चै साकार पार्ने हो भने त्यसको केन्द्रमा नारायणी रंगशालाजस्तो ऐतिहासिक संरचना हुनैपर्छ। सांस्कृतिक सम्पदा र खेलकुद क्षेत्रको पुनर्जीवन बिना महानगरको समृद्धि सम्भव छैन।




