
बारा जिल्ला यातायात व्यवस्था कार्यालयका प्रमुख अविन्दर दासले आफनो दुइ भाइ भिखारी दास,बिकेश दासलाई करारमा नियुक्त गरि लेखापाल रघुन्नदन साहलाई बिसवासिलो पात्र मानी सार्वजनिक सेवा प्रदान गर्ने यो सरकारी निकाय ‘भ्रष्टाचारको अखडा’ बन्दै गएको स्थानीय स्रोतहरूले दाबी गरेका छन्।
कार्यालय प्रमुख अविन्दर दास नियमित रूपमा कार्यालयमा नदेखिने र ‘स्वास्थ्य समस्या’ वा ‘अनुगमन’का नाममा अनुपस्थित हुने गरेको आरोप छ। त्यस क्रममा उनका भाइ भिखारी दास,बिकेश दास र बिसवासिलो पात्रको रुपमा रहेका लेखापाल रघुन्नदन साहले कार्यालयको अधिकांश कार्य सञ्चालन गर्दै आएका छन्। सेवाग्राही र स्रोतहरूका अनुसार, भिखारी दास र लेखापाल रघुन्नदन साह कै निर्देशनमा लाइसेन्स वितरणदेखि प्रशासनिक निर्णयहरू लिइने गरिएको छ
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रिया नियमनभन्दा बाहिर गएकै आरोप छ। सेवाग्राहीहरूले परीक्षण (लिखित तथा ट्रायल) नदिईकनै एजेन्ट मार्फत रकम बुझाएर लाइसेन्स प्राप्त गर्ने गरेको गुनासो गरेका छन्। प्रतिव्यक्ति १० देखि २० हजार रुपैयाँ लिई लाइसेन्स प्रदान गरिँदै आएको स्रोतको दाबी छ।
यस अनियमितताको सञ्जालमा कार्यालय प्रमुख अविन्दर दासका भाइहरूसँगै ट्राफिक प्रहरी अधिकारी समेत संलग्न रहेको जानकारी प्राप्त भएको छ। प्रमुखका दुई भाइ बिकेश दास आर्थिक संकलनमा संलग्न छन् भने ट्राफिक नायब निरीक्षक किरण कार्की, चालक सुशील सिंहलगायतको संलग्नता रहेको भनिएको छ।
राजनीतिक संरक्षणको कारण प्रमुख अविन्दर दास माथि अघिपछि उजुरी परेपनि मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहसँगको निकट सम्बन्धका कारण छानबिन अघि नबढेको आरोप पनि उठाइएको छ। उनी रौतहटमा कार्यरत रहँदा संलग्न समूहलाई नै बारा ल्याइएको दाबी गरिएको छ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले एक अनुगमनका क्रममा कार्यालय प्रमुख अनुपस्थित रहेको र ट्रायल परीक्षा अव्यवस्थित रुपमा रोकिएको पुष्टि गरिसकेका छन्।
रौतहटमा सेटिङमार्फत असुलीको आरोप
यातायात व्यवस्था कार्यालय बाराका प्रमुख दास निजामती सेवामा विवादास्पद कार्यालय प्रमुखका रूपमा चिनिन्छन्।
यातायात व्यवस्था कार्यालय गौर,रौतहटका प्रमुख रहँदा दासको असुली काण्डले सिमा नाघेको थियो। त्यहाँ पनि सेटिङमा लाइसेन्स बिक्री गरेको र बिचौलियामार्फत असुली गरेको आरोप छ। दास रौतहट यातायात प्रमुख हुँदा दर्जनौं दलाल परिचालन गरी अबैध असुली गरेको आरोप लागेको थियो। रौतहटमा प्रमुख दासले दलालमार्फत खुलेयाम रकम लिएर चालक अनुमति पत्र खरिद-बिक्री गर्ने काम गरेको आरोप छ। यस्तै, स्कुटर, जिप, कार, टेम्पो, ट्याक्टर लगायतका सवारी साधनको अनुमति पत्र वितरण तथा सवारी साधनको नवीकरण, सवारी दर्ता, सवारी जाँचपास र नामसारी लगायतका कार्यको लागि आर्थिक लेनदेन दलालमार्फत गरेको आरोप छ।
अनियमिततामा मुछिएका दासको विगत
यातायात व्यवस्था कार्यालय वीरगंजमा नायब सुब्बा हुँदा निलम्बन समेत परिसकेका विवादास्पद हाकिम छन् अविन्दर दास। यस्तै यातायात व्यवस्था कार्यालय वीरगंजमा रहँदा कानून विपरित भारतीय सवारी चालक अनुमति पत्रलाई नेपालीकरण गरेको र त्यसको अभिलेख समेत नष्ट गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ असोज १४ गते आइतवार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेपछि छ वर्षअघि यातायात व्यवस्था कार्यालय वीरगंजबाट निलम्बनमा परेका थिए।
साथै, नेपालीकरणको लागि प्राप्त निवेदन र सोसँग संलग्न अन्य कागजातहरू र सफल परीक्षार्थीका उत्तरपुस्तिका लगायतका कागजात काम (तामेल भएको एक वर्ष नपुग्दै प्रमाण लोप गर्ने मनसायले नियम विपरित कागजात धुल्याइ सरकारी कागजात नष्ट गर्ने कार्यमा संलग्न कार्यालय प्रमुख विश्वराज नेपाल, तत्कालीन शाखा अधिकृत उमेश रेग्मी र तत्कालीन नायव सुब्बा अविन्दर दासले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिम कसूर गरेको देखिन आएकोले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिम सजाय हुन मागदावी गरिएको थियो।
शक्ति केन्द्रहरू खेलाउन सक्ने दास अख्तियारलाई समेत आर्थिक प्रभावमा पारेर मुद्दा कमजोर बनाउन सफल भएको बताउँछन्। ‘अख्तियार, नेता सबैलाई कसरी हात लिनुपर्छ, सबै मलाई थाहा छ,’ भन्नुहुन्छ उनी। उनका समकक्षीहरूको भनाइअनुसार उनको सम्बन्ध त मन्त्रालयभन्दा सिधै मुख्यमन्त्री कार्यालय र संघीय मन्त्रीसँग रहेको छ। ‘मन्त्रीको कुरै छोडौं, मुख्यमन्त्री सिंह पनि दासको सेटिङमा सामेल छन्, उनी खुलेरै कर्मचारीलाई बताउने र धम्काउने गरेका छन्,’ कार्यालयका एक कर्मचारीले भने।




